
रुपन्देहीका उदय र बाँकेका देवकोटाबीच प्रतिष्पर्धा
सोमवार , कार्तिक २९, २०७८
भैरहवा, २९ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत अध्यक्ष पद चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । अन्य पदमा सहमति जुटे पनि अध्यक्षका लागि सहमति जुट्न नसकेपछि सोमबार निर्वाचन अन्तर्गत मतदान सुरु भएको हो ।
अध्यक्ष पदका लागि रुपन्देहीका प्रदीप कुमार उदय र बाँकेका ऋषिराज देवकोटाले उम्मेदवारी दिएका छन् । उदय राप्रपा लुम्बिनी प्रदेश तदर्थ समितिका अध्यक्ष समेत हुन् । लुम्बिनी प्रदेश अधिवेशनका लागि ५२४ जना प्रतिनिधि रहेको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका उम्मेदवार प्रदीप उदयले आफूले राप्रपा लुम्बिनी प्रदेश तदर्थ समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको र पार्टीको नीति, सिद्धान्तलाई बलियो रुपमा स्थापित गर्न उम्मेदवारी दिएको बताए । उनले लुम्बिनी प्रदेशमा राप्रपालाई अग्रणी शक्तिको रुपमा स्थापित गर्न आफूले नेतृत्वको दावी गरेका बताए । नेता उदयले राजासहितको प्रजातन्त्र, हिन्दू राष्ट्रको स्थापना र संघीयताको खारेजीको मुद्दा थप सशक्त रुपमा अगाडी बढाउने बताए । ‘मुद्दा बलियो हुँदाहुँदै संगठित हुन नसक्दा सोचेजस्तो प्रतिफल प्राप्त गर्न सकेका छैनौं, अब लुम्बिनी प्रदेशमा राप्रपालाई एउटा बलियो राष्ट्रवादी शक्तिको रुपमा स्थापित गरेरै छाड्छौं, ’उनले भने ।
त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ऋषिराज देवकोटाले राप्रपालाई लुम्बिनी प्रदेशमा सशक्त र बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताए । उनले लुम्बिनी प्रदेशको विकृति विसंगतिको अन्त्य गर्दै राप्रपाको विचार तथा सिद्धान्तलाई स्थापित गराउन आफू लाग्ने बताए ।
राप्रपा लुम्बिनी प्रदेशको सदस्यमा रुपन्देहीका राजेन्द्र अधिकारी, सब्बीर अली पठान, दीपक कुमार पाण्डेय, विश्व प्रकाश श्रेष्ठ, बर्दियाका भूमिदत्त उपाध्याय, प्रभा के.सी., नर बहादुर नेपाली, धर्मराज शाह, कपिलवस्तुका दीपक रजौरीया, सइज अहमद शाह, कनिज फातमा, बाँकेका मनोज सुनार, विजय लक्ष्मी क्षेत्री, वृृजेश बहादुर सिंह, विष्णु सिंह ठकुरी, तिलक बहादुर शाही, देवेन्द्र किरण श्रीवास्तव, पाल्पाका भोजेन्द्र बहादुर कुँवर, तेज प्रसाद पाण्डे (विष्णु), दाङका भूपाल रावत, प्याउली के.सी., हिरालाल खड्का, गेहेन्द्र बहादुर बस्नेत, गुल्मीका युवराज राना, हिमालय के.सी., यज्ञराज पाण्डे, अर्घाखाँचीका सुजन परियार, नवलपरासीका मनोहर रायमाझी, खेमराज खरेल, देव विक्रम शाह सर्वसम्मत निर्वाचित भएका छन् ।
राप्रपा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आइतबारदेखि भैरहवामा सुरु भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij