
शनिवार , आश्विन १७, २०७७
बुटवल १७ असोज । प्रदेश नं. ५ को राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा नेपाली काँग्रेस रुपन्देहीले अन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार बुटवलमा बसेको पार्टीको बैठकले रुपन्देही बन्द, संसद भवन घेराउ, धर्ना, मसाल जुलुस लगायतका बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो।
काँग्रेसले भोली (आइतबार) रुपन्देही जिल्ला बन्द गरी बृहत प्रदर्शन गर्ने जनाएको छ। १९ गते बुटवल जाँउ राजधानी जोगाँउ भन्ने नारा सहित प्रदेश सभा भवन घेराउ गरीने काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले बताए।
१९ गते सांसदहरुलाई संसद भवन प्रवेस गर्न नदिने गरी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना र घेराउको कार्यक्रम गरिने सभापती रज्जाकले बताए ।
राजधानी दाङ सार्ने निर्णयका बिरुद्ध आज जिल्लाका सबै स्थानीय तहका वडा वडामा राके जुलुस प्रदर्शन गर्ने तयारी भइरहेको सचिव रामकृष्ण खाँणले बताए। बुटवलको राजमार्ग चौराह देखि महेन्द्र पार्कसम्मै राके जुलुस निकाल्नुका साथै बुटवल नगरका सबै वडाका चोक चौराहमा प्रदर्शन गर्दैछ।
देवदहको भलुही, खरेनी, तिलोत्तमाका मणिग्राम, भलवारी, भैरहवाको देवकोटा चोक, सैनामैना, रोहीणीको धकधही, मायादेविको बनगाइ चोक, लुम्बिनीको पर्साचोक, मर्चवारको मझगावा लगायतका स्थानमा मसाल जुलुस प्रदर्शन गर्ने तयारी गरिएको काँग्रेसले जनाएको छ।
सरकारले प्रदेश नं. ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्ताव शुक्रबार प्रदेश सभामा दर्ता गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केशीले सरकारका तर्फबाट प्रदेश सभाको राजधानी दाङको राप्ती उपत्यकाको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका हुन्। तर नेपाली काँग्रेस रुपन्देहीले भने सुरु देखि नै जनसंख्या, पुर्वाधार लगायतका हरेक दृष्टिकोणले रुपन्देही नै स्थायी राजधानीकालागि उपयुक्त भएको भन्दै बुटवलबाट राजधानी सार्न नदिने अडानमा छ। नामको सम्बन्धमा भने कुनै बिबाद नभएको जनाएका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij