मंगलवार , श्रावण ६, २०७७
भैरहवा ।
भैरहवामै स्ट्रबेरी ! सुन्दा अच्चम लाग्न सक्छ । तर, अच्चम नमान्नुस, चिसो भेगमा हुने बेरी प्रजाती स्ट्रबेरी अब तराईको भैरहवामा पनि यसको व्यवसायिक उत्पादन सुरु भएको छ । यहाँको कृषि फर्ममा अहिले लटरम्म स्ट्रबेरी फलेको छ । भैरहवाका युवा व्यवसायी आशा गुरुङले तराईमा पनि स्ट्रबेरीको व्यवसायिक खेती सुरु गरेर सर्वसाधरणलाई चखाउन सुरु गरेका छन् ।
दुई वर्षको परिक्षण पछि तराईमा पनि स्ट्रबेरी खेती सम्भव हुने देखेपछि उनले आफ्नो लुम्बिनी एग्रो फर्म तथा रिसर्च सेन्टरमा अन्य फलफुल र तरकारी सँगै यसको व्यवसायिक खेती सुरु गरेका हुन् । भारतबाट चार हजार पाँच सय विरुवा रोपेर स्ट्रबेरीको खेती सुरु गरेका उनले हाल आफ्नो उत्पादन बजारमा समेत पठाउन थालेका छन् । ‘दुई वर्षको परिक्षणमा स्ट्रबेरीको उत्पादन सन्तोषजनक पाइएपछि यसको व्यवसायिक खेती सुरु गरेको हुँ’ फर्मका संचालक गुरुङले भने, ‘अहिले फल्ने मात्रै होईन बजारमा विक्रीका लागी समेत पठाउन थालिसकेका छौँ ।’
उत्पादित स्ट्रबेरी भैरहवाका विभिन्न पसल (डिपाट्मेन्टस्टोर, फलफुल पसल तथा सुपरमार्केट) हरुमा पनि विक्रीका लागि पठाउने गरिएको छ । विस्तारै अन्य शहरहरुमा पठाउने योजना छ । विरुवा रोपेको २ महिनापछि फल दिन सुरु गर्ने यस फलले ५ महिनासम्म निरन्तर फल दिइरहन्छ । स्ट्रबेरीलाई दैनिक ८ घण्टा घाम र १८ डिग्री सेल्सियस तापमान आवश्यक पर्छ । यो तापमान भए जुन सुकै क्षेत्रमा राम्रो सँग स्ट्रबेरी फलाउन सकिने फर्मका संचालक गुरुङ बताउँछन् ।
यही तापमानमा तराईमा यो खेती सफल भएको हो र यहाँ कार्तिक देखि फागुन सम्म उत्पादन राम्रो हुन्छ । एउटा बोटबाट करिब दुई किलो स्ट्रबेरी फल्ने उनको भनाई छ । यो सिजनमा उत्पादन राम्रो भए ८ टन (८ हजार किलो) फल फल्ने उनको दावी छ ।
यस क्षेत्रमा पहिलो पटक स्ट्रबेरीको उत्पादन गरिएकोले यसको माग बढ्दै गएको छ । ‘सुरुवाती चरण भएकोले माग अनुसारको पूर्ति गर्न सकिएको छैन’ उनले भने, ‘ठूला स्टोरहरुले धेरै माग गरेका छन् भने व्यक्तिगत रुपमा पनि स्ट्रबेरीको माग बढ्दै गएको छ ।’
बायो मलको मात्र प्रयोग भएकोले पूर्ण अर्यग्यानिक हुदाँ माग बढ्दै गएको उनी बताउँछन् । उनका अनुसार अर्गयानिक फल भएकोले बजारमा ८ सय रुपैया प्रति केजीमा बिक्री भैरहेको छ ।
दैनिक ४÷५ किलो बढी स्ट्रबेरीको उत्पादन भइरहेको छ । अब फागुनमा उत्पादन हुने स्ट्रबेरीको यहाँको मौसमका कारण झनै स्वादिलो हुनेछ । आगामी वर्ष दश हजार बढी विरुवा रोप्ने उनको योजना छ । उनले स्ट्रबेरीको उत्पादन सुरु भएपछि फर्ममा उच्चस्तरीय सरकारी अधिकारी, विदेशी नियोग लगायत सर्वसाधरणहरु अवलोकन गर्न आउने गरेको र साथी, भाइ, नाता, सम्बन्धका व्यक्तिहरुलाई कोसेलीको रुपमा समेत स्ट्रबेरी दिने थालिएको उनी बताउँछन् ।
उनले अब विदेशबाट आयत हुने यो फलको लागि अब थोरै रकम भएपनि विदेशीनबाट रोकिने बताए । गत वर्ष तरकारी र फलफुल खेतीमा थोपा सिचाँईका लागि प्रदेश र स्थानीय सरकारबाट केही अनुदान पाएपनि हाल यो वर्ष सरकारबाट कुनै किसिमको सहयोग प्राप्त नभएको उनले गुनासो पोखे ।
साढे ६ विघामा तरकारी र फलफुलको व्यवसायिक खेती गरिरहेको गुरुङले सरकारले ‘सिड हाउस’ बनाउनमा सहयोग गरे अत्याधिक मात्रामा यही स्ट्रबेरी उत्पादन गर्न सकिने बताए । र्फममा अहिले स्ट्रबेरीको विरुवा भारतको पुनाबाट ल्याउने गरिएको छ ।
‘सिड हाउस’ भएमा भारतबाट ल्याउँदा १६ रुपैयाँ भारु पर्ने स्ट्रबेरीको विरुवा यहाँ उत्पादन गरेर १० रुपैयाँ नेरुमै विक्री गर्न सकिने उनी बताउँछन् ।
‘सरकारको साथ सहयोग पाएका छैनौँ’ उनले भने, ‘साथ सहयोग पाउने हो भने बेरोजगारलाई रोजगारी दिनुका साथै स्थानीय उत्पादन विदेशीमा समेत निर्यात गर्न सक्छौँ ।’
स्ट्रबेरीलाई विश्वको दोश्रो सर्वाधिक लोकप्रिय बेरी फलको रुपमा लिईन्छ । पहिलो लोकप्रिय बेरी फल अंगुर हो । स्ट्रबेरीमा कोलेस्ट्रोल घटाउने, एण्टी अक्सिडेण्ट, भिटामिन र अन्य खनिज पदार्थ प्रचुर मात्रामा पाइने गरेकोले स्वास्थ्यका लागि अत्यन्तै लाभदायक फल मानिन्छ ।
विदेशमा फल्ने स्ट्रबेरीको रंग, आकार, स्वाद र यहाँ उत्पादन हुने स्ट्रबेरीबीच कुनै फरक नरहेको उनले बताए । विदेशीबाट आउने स्ट्रबेरी भन्दा यहाँ उत्पादित स्ट्रबेरीको स्वाद र गुणस्तर पूर्ण अर्गयानिक राम्रो रहेको उनले बताए ।
स्ट्रबेरीको माउ विरुवाको लहराबाट नर्सरी राखेर प्रत्येक वर्ष नयाँ विरुवा रोपेर खेती गर्न सकिने उनको भनाई छ । यस महिनामा नर्सरी विरुवा तयार हुने र उक्त विरुवा चिसो वा पहाडी क्षेत्रमा रोपेर फल उत्पादन गर्न सकिने उनी बताउँछन् । जसका लागि उनले चिसो भेगमा विरुवा विक्री गर्ने योजनामा पनि रहेको बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
