२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

ज्येष्ठ नागरिक मिलनकेन्द्र, स्वास्थ्य चौकी र मन्दिर बन्ने

बुटवल–५ मा नाली व्यवस्थित गर्दै निकास मार्ग

सोमवार , कार्तिक ८, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • बुटवल, ८ कात्तिक ।
    बुटवल उपमहानगरपालिकाको वडा नम्बर ५ मा निकास नभएका र नाली गन्हाएर हिंडडूल गर्न समेत धौ–धौ हुने टोललाई नयाँ बस्तीका रुपमा विकास गरेको छ । घना बस्ती र सानो क्षेत्रफल रहेको वडाका निकास नभएका टोलमा निकास मार्ग निर्माण गरि मुहार फेरिएका छन् । 

    यहाँका विभिन्न टोलका नालीको खुला क्षेत्रलाई व्यवस्थित गर्दै विभिन्न टोलमा वाइपास मोटोरेवल मार्ग बनाइएको छ भने टोललाई पायक पर्ने ठाउँ पारेर ज्येष्ठ नागरिक मिलनकेन्द्र, शितलादेवी मन्दिर, स्वास्थ्य चौकी र सार्वजनिक शौचालय निर्माण भएका र हुने क्रममा छन् । 

    सोमबार एक समारोहका बीच नगरप्रमुख शिवराज सुवेदीले यहीँ नमुना टोलमा ज्येष्ठ नागरिक मिलन केन्द्र तथा स्वास्थ्य चौकी र शितलादेवी मन्दिरको एकसाथ शिलान्यास गरेका छन् । मोटरेवल सडकसंगै जोडिएको क्षेत्रमा टोलहरुको केन्द्रमा पारेर ज्येष्ठ नागरिक मिलनकेन्द्र र स्वास्थ्य चौकी शिलान्यास गरिएको छ । करिब २२ लाख बरारबरको लागतमा त्यहाँ रहेको सार्वजनिक जग्गालाई संरक्षण गरेर उक्त मिलनकेन्द्र तथा स्वास्थ्य चौकी बनाउन लागिएको हो । 

    त्यसक्रममा प्रमुख सुवेदीले समुदायको हित र दैनिक जीवनयापनमा सहजता हुने गरी योजना छनौट भएर साकार हुने क्रममा रहेको बताए । उनले बुटवलको व्यस्त बजार क्षेत्रलाई सफा, सुरक्षित र आकर्षक बनाउन विभिन्न योजना बनाइएको पनि बताए ।

    सोही टोलमा यसअघि प्रमुख सुवेदीले नयाँ प्रविधिको मोटरेवल सडकको शिलान्यास गरेका थिए । उक्त सडकको निर्माणकार्य पूरा भएको छ । विकास निर्माणका काममा भइरहेको उपभोक्ताको सक्रिय सहभागिताको प्रशंसा गर्दै प्रमुख सुवेदीले निगरानी गर्न समेत आग्रह गरे । 

    सोही समारोहमा बोल्दै उपप्रमुख तथा अनुगमन समितिका संयोजक गुमादेवी आचार्यले व्यस्त बजार क्षेत्रमा ज्येष्ठ नागरिक मिलनकेन्द्र, स्वास्थ्य चौकी तथा समुदायका आस्था अनुसारका धार्मिक संरचनाको विकास गरिएको बताए । उनले फुटपाथको उचित प्रबन्ध मिलाउँदै पैदलयात्रीलाई सुविस्ता दिनेगरि सडक निर्माणमा उपमहानगरले जोड दिएको बताए ।

    वडा नम्बर ५ को काठेपूलदेखि नेपालगञ्ज रोडमा जोड्ने गरी नालीमाथि करिब दुई सय मिटर लामो नालीमा व्यवस्थित सडक निर्माण भएको छ । यो यहाँका कैयन टोलका लागि निकास मार्ग हो । निकास नभएका र हिंडडूलमा पनि गाह्रो हुने गरेका अमर तिनाउ विकास टोल, हाटबजार जनशान्ति टोल तथा शौभाग्य नगर टोलमा नालीमाथि व्यवस्थित ढक्कन बनाएर मोटरेवल सडक बनाइएको वडा अध्यक्ष तेजप्रसाद विश्वकर्माले बताए ।

    यस्तै नेपालगञ्ज रोडमा सार्वजनिक शौचालय निर्माण भएको छ भने राधाकृष्ण टोलमा गुजुल्टिएर रहेका तारहरुलाई व्यवस्थित गर्ने र फोहोर मैला व्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको वडाअध्यक्ष विश्वकर्माको भनाइ छ । 

    बुटवलको हाटबजार नजिकको जनशक्ति टोलबाट सुरु हुने यो मार्ग त्यहीँको न्यू रोडमा जोडिएर नेपालगञ्ज रोडसम्म पुगेको छ । स्थानीय १६ घरको उपभोक्ता समिति गठन गरेर जनसहभागितामा योजना अगाडि बढाइएको थियो । वडाका अध्यक्ष विश्वकर्माले व्यवस्त हाटबजार लाइनको वाइपास सडकका रुपमा यस्लाई विकास गर्न लागिएको र टोलटोलमा रात्रीकालिन बजार सञ्चालन गर्ने योजना रहेको बताए । 

    गोलपार्क, हाटबजार, अमरपथ क्षेत्रबाट नाली र ढल बगेर आउने, निकाश नभएको टोललाई नमुना बजार टोल बनाउनेगरि काम भइरहेको छ । सोही वडामा बन्न लागेको शितलामाई मन्दिरलाई पनि धार्मिक आश्थाको केन्द्रका रुपमा निर्माण गर्न लागेको र करिब पाँच लाख बजेट विनियोजन भएको वडाका जनप्रतिनिधि यम बरालले बताए ।

    ज्येष्ठ नागरिक मिलन केन्द्र, स्वास्थ्य चौकी र शितलादेवी मन्दिरको संयुक्त शिलन्यास कार्यक्रममा नेकपा एमालेका नेता तथा समाजसेवी रुहुल अमिन, केशवराज पन्थी, मणि खनाल, वडाका जनप्रतिनिधिहरु, टोलविकास संस्थाका अध्यक्ष कौशलराज गैरे, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्ष गौतम कालिराज, वडाका सचिव रामप्रसाद खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।