सोमवार , कार्तिक ८, २०७८
बुटवल, ८ कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ स्थित भलवारीमा निःशुल्क अचार बनाउने तालिम सुरु भएको छ । हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा महिला उद्यमशिलता र सीप उन्नयनको लागि तीनदिने अचार बनाउने तालिम सुरु भएको हो ।
२०५२ सालमा स्थापना भएको सहकारीले महिला सदस्यहरुलाई स्वरोजगार बनाउँने उद्देश्यसहित तालिमको सुरुवात गरेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोबिन्द शर्मा बस्यालले बताए । ५ सय सदस्य रहेको सहकारीमा ६० प्रतिशत भन्दा बढी महिला सदस्य रहेको उनले जानकारी दिदैं महिलालाई सीपमूलक तालिमलाई निरन्तर सञ्चालन गरिने बताए । पहिलो चरणमा अचार बनाउने तालिम सुरु गरिएको र महिला सदस्यहरुको चाहना अनुसार सहकारीले सीपमुलक तालिम सञ्चालन गरिने बताए । बस्यालले सीप सिकेर घरमै अचार बनाउन सक्नेको लागि सहकारीले ऋण र बजारिकरणमा सहयोग गर्ने जानकारी दिए ।
पहिलो चरणमा ३५ जना महिला सदस्यहरुलाई तालिममा सहभागिता रहेको सहकारीका सचिव गणेश प्रसाद सुवेदीले जानकारी दिए । च्याउ, करेला, खुर्सानी, मासु, मेथी, लसुन, मिक्स अचार बनाउने तालिम दिइने कार्यक्रम संयोजक दिपक ढकालले बताए । तीन दिनसम्म तालिम सञ्चालन हुने र सी सिकेर स्वरोजगार बन्न चाहनेलाई सहकारीले सहयोग गर्ने उनले बताए । सहकारीले तालिम सञ्चालनको लागि ८० लाख बजेट छुट्टाएको ढकालले बताए । रुपन्देही उद्योग संघका सचिव मञ्जु भुषाल बेलबासेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा गोपाल प्रसाद न्यौंपाने, होमनाथ ज्ञवाली , ईन्द्रिया गैरे लगातयले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij