२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

भैरहवामा २४ वर्षे युवाले पाए एमाले वडाअध्यक्षको जिम्मेवारी

आइतवार , कार्तिक ७, २०७८

भैरहवा, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम वडा अधिवेशनबाट भैरहवाको एउटा वडामा २४ वर्षे युवाले वडाअध्यक्षको जिम्मेवारी पाएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ को अधिवेशनबाट भीम भण्डारी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । उनी सिद्धार्थनगर नगरपालिकाका १३ वटा वडामध्ये वडाअध्यक्ष हुने सबैभन्दा कान्छा हुन् ।

उनी नेकपा हुँदा वडा सचिव थिए भने एमाले र माओवादी केन्द्र विभाजनपछि एमालेबाट कार्यवाहक वडाअध्यक्षको जिम्मेवारीमा थिए ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पसको सचिवको समेत जिम्मेवारी सम्हालिसकेका भण्डारी विद्यार्थीमाझ समेत लोकप्रिय छन् । उनी हाल अनेरास्ववियु रुपन्देही जिल्ला सह–सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । ‘हाल स्नात्तकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययनरत भण्डारी भन्छन्, युवा पनि राजनीतिमा नेतृत्व गर्न सक्छन् भन्ने कुरालाई आत्मसात गर्दै मलाई वडाका सम्पूर्ण पार्टीका संगठित सदस्यहरुले सर्वसम्मत रुपमा निर्वाचित गराउनुभएको छ, ’पार्टी र जनताको लागि काम गर्नेछु । अग्रजहरुलाई सम्मान गर्दै आफू अगाडी बढ्ने उनको भनाइ छ । स्थानीय निर्वाचनमा र पार्टीका विभिन्न पदमा पार्टीका अग्रजहरुलाई साथ र सहयोग गर्ने उनले बताए । भण्डारीको बुवा नरेन्द्र भण्डारी समेत एमालेको राजनीतिमा सक्रिय छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य समेत रहेका एमालेका युवा नेता तथा अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले कान्छो वडाअध्यक्ष भण्डारी सानैदेखि क्रियाशिल र मिहिनेती भएको बताए ।

एमाले रुपन्देही जिल्ला सदस्य उमा अधिकारीले भनिन्, ‘युवाको नेतृत्वलाई विश्वास गरेर एकदमै उदाहरणीय काम गरेको हुनाले वडा नम्बर १३ का पार्टी सदस्यहरुलाई लाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।’

प्रथम अधिवेशनबाट वडा नम्बर १३ को उपाध्यक्षमा धिरज अधिकारी, सचिवमा चन्द्रध्वज थकाली, उपसचिवमा शोभा गुरुङ र सविता रसाली निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा पृथ्वी बहादुर मगर, मनोज कुमार जयसवाल, ननिता थापा, राजु पंगेनी, सीता वर्मा र लक्ष्मी जालन्धर निर्वाचित भएका छन् ।

सिद्धार्थनगर वडा नम्बर २ मा महिला अध्यक्ष इन्दिरा क्षेत्री निर्वाचित भएकी छन् ।

गत स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर वडा नम्बर १३ मा एमालेबाट वडाअध्यक्षसहित २ जना वडा सदस्य निर्वाचित भएका थिए । सिद्धार्थनगर नगरपालिकामा प्रमुख, उपप्रमुखसहित ६ वडा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।