२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् :  महासचिव पोखरेल

बुधवार , कार्तिक ३, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • गण्डकी, ३ कात्तिक ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसँै, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सच्चा कम्युनिष्टले आफ्नो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने बताए । उनले पार्टीलाई थप क्रियाशील तथा संगठित बनाउँदै अघि बढिने बताए । जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको बताउँदै उनले मुलुकको आर्थिक विकास र समृद्धिको मुद्दालाई जहाँ भए पनि नछोड्ने विश्वास व्यक्त गरे ।

    नेकपा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको विधान अधिवेशनले पार्टी सङ्गठनलाई थप मजबुत र आगामी कार्य नीति निर्दिष्ट गरेको बताउँदै देशव्यापी रुपमा संगठन सुदृढीकरण अभियानमा अघि बढ्नुपर्नेमा जोड दिए ।

    पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खगराज अधिकारीले एमालेलाई थप सङ्गठित बनाएर आगामी निर्वाचनमा राज्यको नेतृत्व गर्न सक्ने गरी अघि बढाउनुपर्ने बताए । पार्टी पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री जगत विश्वकर्माले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि संगठित भएर अघि बढ्न संकल्प लिनुपर्नेमा जोड दिए । 

    नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र सचिव दामोदर बैरागीले नेकपा एमालेको नेतृत्वको सरकारले गरेका जनपक्षीय कामलाई निरन्तरता दिनका लागि आगामी संघ, प्रदेश र स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउनेतर्फ कार्यकर्ता संगठित भएर लाग्नुपर्नेमा जोड दिए । रासस