images

शुक्रवार, चैत्र १६ गते २०८०

दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा

दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा

सुदुरपश्चिम बढी प्रभावित

images
images
images
मंगलवार, कार्तिक २ २०७८
मंगलवार, कार्तिक २ २०७८
  • दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा

    काठमाडौँ, २ कात्तिक ।
    नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन । एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ । 

    images
    images
    images

    खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन् । हाल बंगालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए । यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उहाँको भनाइ छ । बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ । यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो । 

    दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदुरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ । नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ । यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ । डोटीमा दुई र डडेलधुरा तथा कालिकोटमा एक÷एक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ । मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्ती लगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ । 

    प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङ्को जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।  

    यसअघि डुबानमा परेका कञ्चनपुरका २०० प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ठाउँठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।

    खराब मौसमका कारण विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका पर्यटक समेत प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा कति ठाउँका पर्यटक फर्कन नसकेको बताइएको छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुदुरपश्चिमका अधिकांश सडक अवरुद्ध भएको जानकारी दिए । प्रतिकूल मौसमका कारण हवाई उडान समेत प्रभावित हुन पुगेको छ । 

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भएको छ । 

    बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए । यसपटक मनसुनमा धेरै वर्षा भएको थियो । पोष्ट मनसुनमा समेत ठूलो वर्षा भयो । वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्धारको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले  निर्देशन गरिसकेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले पनि मातहतका निकायलाई उद्धार तथा राहतका कार्यमा कुनै कसर बाँकी नराख्न सुरक्षा अधिकारी र प्रशासनलाई निर्देशन दिइसकेका छन् ।

    उद्धारमा सेनाको हेलिकप्टर पठाइयो 

    दुई हेलिकप्टरले उद्धारको प्रयास थाले पनि मौसम प्रतिकूल हुँदा उद्धार गर्न नसकेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । कञ्चनपुरमा सेनाको हेलिकप्टरबाट उद्धार गर्न गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि अहिले धनगढीमा बसिरहेको छ । मौसम अनुकूल हुने बित्तिकै हेलिकप्टर जाने पाण्डेले बताइन् । उनका अनुसार महाकाली नदीको बगरमा फसेकाको उद्धार गर्ने प्रयास भइरहेको र बैतडी क्षेत्रमा उद्धारका लागि समेत काठमाडौँबाट हेलिकप्टर पठाइएको छ ।

    सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले उद्धार गर्न गएको सानो हेलिकप्टर मौसम खराबीका कारण अहिले धनगढीमा बसेको र काठमाडौँबाट पठाइएको ठूलो हेलिकप्टर पनि खराम मौसमका कारण सुर्खेतमा गएर बसेकाले मौसम अनुकूल हुने बित्तिकै उद्धारमा परिचालन हुने जानकारी दिए । उनले जमिनबाट गएका फौजले भने उद्धारको काम गरिरहेको जानकारी दिए । सँगसँगै सशस्त्र र नेपाल प्रहरी समेत उद्धारमा परिचालित छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij