
मंगलवार , श्रावण ६, २०७७
मस्को– रुसमा कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन चिकित्सकले अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका छन्। रुसी सञ्चारमाध्यमका अनुसार अति कार्यबोझ रहेको भन्दै झ्यालबाट हाम फाल्नेमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको छ।
दुई साता अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ। रुसमा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन्।
चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागिरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाइ छ।
समाचारहरुमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो।
रूसमा सयौंको संख्यामा स्वास्थ्यकर्मीहरु नै कोरोना भाइरसबाट संक्रमित भएका छन्।
रूसको राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका कारण ज्यान गएको थियो। कोरोना संक्रमित डा शुलेपोभको त्यही अस्पतालमा उपचार हुँदै थियो।
पश्चिम साइबेरियाको क्रानोयास्रक शहरमा अप्रिल २५ मा डा येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौं तलबाट खसेर ज्यान गयो। उनको मे १ तारिखका दिन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो।
त्यस्तै अप्रिल २४ मा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर डा नताल्या लेभेदेभाको मृत्यु भयो। अस्पतालले दुर्घटनाबस नताल्याको निधन भएको बताए पनि स्थानीय संचार माध्यमहरुले डा नताल्यामाथि कोरोना भाइरससँग सम्बन्धित तनाव नै मुख्यरुपमा जिम्मेवार रहेका बताएका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij