
बिहिवार , आश्विन २१, २०७८
भैरहवा, २१ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर कमिटीले नगर कार्यालय स्थापना गरेको छ । सिद्धार्थनगर–८ स्थित शिवपथमा पार्टी कार्यालय खोलिएको नगर अध्यक्ष राम बहादुर बस्नेतले जानकारी दिए ।
पार्टी कार्यालयको बिहीबार समाजवादीका केन्द्रिय सल्लाहकार एवं संविधानसभा सदस्य आदित्य नारायण कसौधनले शुभारम्भ गरेका थिए ।
पार्टी कार्यालय शुभारम्भ गर्दै कसौधनले कम्युनिष्ट पार्टीको मर्म र धारणाअनुसार समाजवादी अघि बढ्ने बताए । संगठन बलियो भए पार्टी बलियो हुने भन्दै उनले त्यसतर्फ लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । विभिन्न कमिटीहरु बनाई पार्टीका नीति, उद्देश्य जनता माझ लैजानुपर्ने उनले जनाए । ‘सबै एकजुट भएर पार्टी निर्माणमा लागे नेकपा समाजवादी मुलुककै भरोसायोग्य र अब्बल पार्टी बन्नेछ’, कसौधनले भने ।
पार्टी केन्द्रिय कमिटी सदस्य एवं सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले वैचारिक, सैद्धान्तिक, व्यवहारिक र नीतिका हिसावले समाजवादी मुलुककै अग्रणी पार्टी भएको बताइन् । उनले नगर कमिटीलाई व्यवस्थित गर्दै सबै वडा तथा टोलटोलमा संगठन निर्माण गर्न लाग्नुपर्ने जनाइन् ।
पार्टी प्रदेश कमिटी सचिव एवं रुपन्देही अध्यक्ष राजु गुरुङले कम्युनिष्ट आन्दोलन जोगाउने जिम्मेवारी नेकपा समाजवादीको काँधमा आएको बताए । उनले नीति, नियममा हिंड्ने पार्टी भएकाले धेरै नेपालीहरु समाजवादीमा आबद्ध हुने विश्वास व्यक्त गरे । गुरुङले लुम्बिनी प्रदेशमा पार्टी संगठनलाई मजबुत बनाउन सबै लाग्नु पर्ने जनाए । अब, प्रत्येक पालिका र वडाहरुमा संगठन र पार्टी कार्यालय स्थापना गरी काम गरिने उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं पार्टीको पाल्पा जिल्ला कमिटी उपाध्यक्ष रमा घर्तीमगर, रुपन्देही जिल्ला कमिटी सचिव अविराम विक, सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारी, नगर अध्यक्ष राम बहादुर बस्नेत लगायतले बोल्दै कम्युनिस्ट आन्दोलनलाई सार्थकता प्रदान गर्न र सही बाटोमा डोर्याउन नेकपा समाजवादी नै महत्वपूर्ण पार्टी रहेको बताए । उनीहरुले इमान्दार, निमुखा र सबै किसिमका वर्ग, क्षेत्र, समुदायको रोजाईमा पार्टी रहेको जनाए । अब संगठन विस्तारमा तीव्र रुपले लाग्नु पर्नेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा पार्टी प्रदेश कमिटी सल्लाहकार त्रिलोकनारायण विक र मुरारीलाल अग्रवाल, प्रदेश सदस्यहरु श्रीराम यादव, ऋषिराम पाण्डे लगायतको आतिथ्यता रहेको थियो । नगर कमिटी सचिव समिर खाँनले कार्यक्रम सञ्चालन गरेका थिए ।
((
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij