
शनिवार , आश्विन १६, २०७८
बुटवल, १६ असोज ।
खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल लाफा समुहको आयोजनामा बी लेभल पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । दिपनगरस्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा पत्रकार र आयोजक लाफा समूहबीच भएको मैत्रीपुर्ण खेलमा लाफा विजयी भएको छ । लाफा समूहका पूर्व खेलाडीहरु खेलमा ३–१ को सेटमा विजयी भएका छन् । पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै लाफाले खेलमा अग्रता लिएको थियो । तर तेस्रो सेट पत्रकारले २५–१९ को अंकको जित निकाल्दै खेलमा फर्केको भएपनि चौथो सेट लाफाले २५–२२ मा जित्दै खेल आफ्नो कोल्टामा पारेको थियो ।
शिवनगर सामुदायिक वन विकास समितिका अध्यक्ष नारायण बहादुर घिमिरेले एक कार्यक्रमकाबीच खेलको उद्घाटन गर्दै खेल पूर्वाधारमा अगाडि बढ्न जरुरी रहेको बताए । शिवनगर वन क्षेत्रमा खेलग्रामको योजना अगाडि बढाउन तीन तहकै सरकारबीच सहकार्यको काम अघि बढेको उनले बताए । धेरै खेलका सुविधासम्पन्न मैदान बनाउने गरी गुरुयोजना रहेको उनले बताए । कुनै बेला नेपालमा खेलाडीहरुलाई सरकारी र गैरसरकारी संस्थाहरुले नियुक्ति दिएर खेल र खेलाडी विकासमा योगदान आएको भए पनि पछिल्लो समय व्यवसायिक खेलमा अगाडी बढ्न नसकेको उनले दुखेसो गरे ।
कार्यक्रममा समाजसेवी चक्र बहादुर राना, देवेन्द्र थापा, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, वन विकास समितिका कोषाध्यक्ष राजेन्द्र रिजाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, रुपन्देही स्नुकर तथा पुल हाउस संघका अध्यक्ष गजेन्द्र श्रेष्ठ, समुहका उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेले युवाहरुको खेल विकासमा सबैको पहल जरुरी रहेको बताए।
प्रतियोगितामा विभागीय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको समुहका अध्यक्ष तारा रश्मीमगरले बताए । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी द्वितीय टिमले नगद २० हजार, तृतीय टिमले नगद १० हजार रुपैयाँ तथा सान्त्वना टीमले नगद ५ हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार (रवि)थापा, दिपेन्द्र थापाले ७५ हजार रुपैयाबराबर रकम सौजन्य गरेका छन् ।
प्रतियोगिता सञ्चालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए । खेलप्रेमी र विभिन्न संघ–संस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए । लाफा समुहले संचालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढी उमेर समुहका खेलाडीहरु बिहानसांझ प्रशिक्षण दिदै आएको प्रशिक्षक विजय गुरुङले बताए । रोल्पा, रुकुम, स्याङ्जा, पाल्पाबाट समेत सिक्दै आएको उनले बताए । एकेडेमीमा प्रशिक्षण लिदै आएका खेलाडीहरुबाट नै दुई टिम प्रतियोगितामा भाग लिने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij