
बुधवार , आश्विन १३, २०७८
बुटवल, १३ असोज ।
मदन भण्डारी भलिबल एकेडेमी, रुपन्देही जिल्लाले भलिबल एकेडेमी सञ्चालन गर्ने भएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले दिपनगरस्थित शिवनगर सामुदायिक क्षेत्रमा एकेडेमी सञ्चालन गर्ने भएको हो । बुटवलमा बुधबार भलिबल एकेडेमी संचालन तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम गरी खेल मैदान तयार गर्ने आवश्यक तयारी भएको एकेडेमीका उपाध्यक्ष युवराज सारुले बताए ।
मदन भण्डारी एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्य, जीवलाल आश्रित प्रतिष्ठाका केन्द्रीय अध्यक्ष डा सागर न्यौपाने, युवा नेता तथा खेलप्रेमी पुरन गुरुङ, मदन भण्डारी प्रदेशका देवी वाग्ले, शंकर पाण्डे, बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, सचिव बिनोद आचार्य, महेश खनालले खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।
मदन भण्डारी एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले मदन भण्डारी एकेडेमीको निक्कै कठिनाइको अवस्थामा स्थापना भएको भन्दै यो सबैको साझा संस्था भएको दावी गरे । व्यवसायिक खेलाडी बनाउने लक्ष्यसहित राष्ट्रिय झण्डाको पहिचानका लागि आफूहरु लागेको बताए । कुलतबाट बचेर खेल विकास गर्दै अघि बढ्न सके युवा टिमको भविष्य राम्रो रहेको उनले बताए । खेलमा रुची भएका उमेर समुहका खेलाडीहरुलाई केन्द्रबाट कार्यविधि तयार गरेर आवश्यक योजना अनुसार उत्पादनमा जोड दिने उनले बताए ।
कार्यक्रममा जीवलाल आश्रित प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा सागर न्यौपानेले नेपाली परिवेशमा सानै उमेरबाट नै खेलकुदमा रोक लगाउने समाजमा ठूलो परिवर्तन आएको बताए । खेलकुदबाट शारीरिकसंगै मानसिक विकासमा सकारात्मक प्रभाव पारेको बताए ।
एकेडेमीमा भलिबल प्रशिक्षक राजन कुवरले खेलाडीहरुलाई प्रशिक्षण गराउँदै आएका छन् । असोज १५ गतेबाट सुुरु हुने लाफा समूहको भलिबल प्रतियोगितामा एकेडेमीको दुई टिमले भाग लिने भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij