२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

पूर्व वडाअध्यक्ष मिलन बस्नेत एमालेमा प्रवेश

आइतवार , आश्विन १०, २०७८

भैरहवा, १० असोज ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले नगर कमिटी सिद्धार्थनगर, रुपन्देहीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वडाअध्यक्ष बस्नेतसहित सिद्धार्थनगर–४ का वडा सदस्य फूल कुमारी चौधरी, मनि वि.क. लगायत विभिन्न पार्टी परित्याग गरी ६ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले नेता भरत कुमार पोखरेलले बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ४ र १० बाट विभिन्न पार्टी परित्याग गरी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । त्यसै गरी एमालेका युवा नेताद्वय मिलन दर्लामी र कृष्ण मल्लको पहलमा विभिन्न पार्टी परित्याग गरी ७२ जना एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी, जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ संयोजक हितराज पन्थी, एमाले जिल्ला सदस्य तथा सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, भरत कुमार पोखरेल, राजेन्द्र प्रसाद पन्थी, पम्फावती खनाल लगायतले पार्टीमा प्रवेश गराए ।

२०५४ सालको निर्वाचनमा स्वतन्त्र रुपमा बस्नेत सिद्धार्थनगर–४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै २०७४ सालको निर्वाचनमा स्वतन्त्र समूहमार्फत उम्मेदवारी दिएका बस्नेत १८ मतले पराजित भएका थिए । तर, उनको समूहबाट भने ३ जना वडा सदस्य निर्वाचित भएका थिए । 

पूर्व वडाअध्यक्ष बस्नेतले २०७४ सालमा पनि एमालेबाट निर्वाचनमा उम्मेदवारी दिने तयारी भए पनि केही प्राविधिक कारणले त्यसो हुन नसकेको बताए । उनले आगामी निर्वाचनमा सिद्धार्थनगर–४ मा एमालेले सम्पूर्ण सिट जित्ने दावी गरे । ‘एमालेले गठबन्धन बिना एक्लै प्रतिष्पर्धा गरेको अवस्थामा सिद्धार्थनगर नगरपालिका पनि एमालेृको लालकिल्ला बन्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले एमाले पुनः जनादेशबाट आउने दावी गरे । उनले रुपन्देहीको कम्युनिष्ट आन्दोलनलाई थप मद्दत पुगेको बताए । उनले भने, सबै अट्ने पार्टी एमाले हो, यो पार्टीमा आएर पछुतो हुँदैन । 

एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप)ले एमालेलाई कमजोर बनाउन षडयन्त्र भइरहे पनि त्यो सफल नहुने बताए । 

पार्टीका रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले एमालेको विकल्प नरहेको बताए । उनले एमाले सर्वाधिक शक्तिशाली पार्टीको रुपमा अगाडी बढ्ने दावी गरे ।
एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले मुलुकलाई समृद्ध बनाउन एमालेमा एकताबद्ध भइ अगाडी बढ्न आग्रह गरे ।

एमाले सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्यले दिनप्रतिदिन अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेशको लहर चलेको बताए । एमाले सिद्धार्थनगरका सचिव चक्र बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
IMG_5016.JPG