
शुक्रवार , आश्विन ८, २०७८
बुटवल, ८ असोज ।
नेपाली कांग्रेसको असोज ९ गते हुन गइरहेको १४ औ महाधिवेशन अन्तरगत बुटवल उपमहानगरपालिकामा रिता केसीले आफू पार्टीको आधिकारीक उम्मेदवार भएको दावी गरेकी छिन् । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खांणको प्यानलबाट उनले उम्मेदवारी दिएकी छिन् ।
पार्टीको संगठनलाई बलियो बनाउने लक्ष्यसहित उम्मेदवार बनेको उनको दाबी छ । कांग्रेसमा संगठन कमजोर हुँदा यसअघिका निर्वाचनमा पार्टी पछि परेको गुनासो सुनिएको भन्दै यो समस्यालाई समाधान गर्न पनि अब आफू लाग्ने उनले बताइन् । रुपन्देहीका १६ स्थानीय तहमध्ये एउटा मात्र पालिकामा आफू नेतृत्व लिन इच्छुक भएको उनले बताए । अन्तिम समयसम्म सहमतिका लागि तयार रहेको भन्दै उनले सभापति नछोड्ने बताइन् । कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकको उपस्थितमा नै घोषणा सभा गरिएकाले पनि आफू आधिकारिक उम्मेदवार भएको उनले बताइन् ।
रुपन्देहीका अधिकांश सामाजिक संघ–संस्थाहरुमा योगदान दिदै आएकी उनी मुक्ति एफएम, राज्य टेलिभिजन, लुम्बिनी टेलिभिजन, साधना महिला विद्यालय लगायत विभिन्न संघ–संस्थाहरुमा आवद्ध छिन् । केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सह–सचिवमा सुदन बासकोटा र गणेश घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।
यता उनकोविरुद्ध खेलराज पाण्डे नै पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा भएको छ । पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छापा पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनालको उम्मेदवारी घोषणा भएको छ । नगरमा १९ वडाबाट ५ सय ६८ जना क्षेत्रीय प्रतिनिधिहरु निर्वाचनमा भाग लिदैछन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij