२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुधवार , आश्विन ६, २०७८

बुटवल, ६ असोज ।
असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । भदौ १ गतेदेखि अवरूद्व सदन प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो । असोज ७ गते दिउँसो १ बजेका लागि तय भएको लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।

गत भदौ ३१ गते बसेको प्रदेश सभाको बैठक नेकपा एमालेको अवरोध गरेपछि असोज ७ गतेसम्मका लागि सभामुख पूर्ण बहादुर घर्तीले स्थगित भएको जनाएका थिए । नेकपा एमालेले कारवाही गरेका प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै बैठक अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका दुईजना प्रदेश सभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

सभामुख पुर्णबहादुर घर्तीले दुईजना प्रदेश सभा सदस्यको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतमा विचाराधीन मुद्दाको बिषयमा सदनमा कुरा उठाउन नमिल्ने भन्दै प्रदेश सभा सदस्यहरूलाई सचेत गराएका थिए ।