मंगलवार , भाद्र १५, २०७८
भैरहवा, १५ भदौ ।
भीम अस्पताल विकास समिति भैरहवा, रुपन्देहीले व्यक्ति तथा संघ–संस्थालाई सम्मान गरेको छ । अस्पताललाई कोभिड–१९ को उपचार र नियन्त्रणमा सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थालाई मंगलबार एक कार्यक्रमकाबीच खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा यस क्षेत्रका समाजसेवी, उद्योगी, सञ्चारकर्मी, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतलाई सम्मान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन् । व्यक्ति तथा संस्थालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारी अस्पताल आम नागरिकको आस्थाको केन्द्र बन्दै गएको बताए ।, उनले विपद्को समयमा सरकारी संयन्त्रहरुले काम गर्दै आएको बताए । भीम् अस्पताल विकास समितिको नेतृत्व आइसकेपछि यो नेतृत्वले अस्पताललाई सकारात्मक रुपमा अगाडी बढाएको उनको भनाइ थियो । विभिन्न व्यक्ति तथा संघ–संस्थाले भीम अस्पताललाई सहयोग गरेर अतुलनीय योगदान पुर्याउनुभएको प्रजिअ तामाङले बताए । कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्डको पालना तथा अधिकतम परीक्षणको आवश्यकता रहेको उनले बताए । महामारीको रोकथामका लागि संयुक्त प्रयास र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।
अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले ५० बेड क्षमताको अस्पतालमा सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद १ सय जना कोरोना संक्रमित विरामीको उपचार गरिएको बताए । उनले असहज अवस्थामा अस्पताललाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गरे । उनले कोरोना महामारीको दोस्रो लहरमा नगद तथा स्वास्थ्य सामग्री/उपकरणसहित करिब ८५ लाख बराबरको सहयोग अस्पताललाई सहयोग प्रदान भएको बताए । अध्यक्ष भण्डारीले अस्पतालमा अक्सिजन प्लान्ट जडान र १० बेडको पीआसीयू बेड निर्माण गर्न लागिएको जानकारी दिए । त्यस्तै सुविधासम्पन्न प्रसुति गृह र ५० जना अट्ने विरामी कुरुवा प्रतिक्षालय बनाउन लागिएको बताए । ‘भीम अस्पतालमा निजी अस्पताल सरहको स्वास्थ्य उपचार सुविधा प्रदान गर्न अगाडी बढेका छौं, ’उनले भने ।
अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा नेकपा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य हितराज पन्थीले महामारीले चुनौतीका साथै सम्भावनाको खोजीका लागि सहयोग गर्ने बताए । उनले चुनौतीकाबीच सम्भावना पनि खोज्नुपर्ने बताए । अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले कोरोना महामारीको रोकथामका लागि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले अस्पताललाई सहयोग गर्न कांग्रेस पछाडी नहट्ने बताए । नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालले नारायण प्रसाद भण्डारीको सक्षम नेतृत्वले राम्रो काम गरेको र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।
भैरहवा मर्निङवाक ग्रुप (बीएमजी) का अध्यक्ष ओमकार गौचनले नारायण प्रसाद भण्डारी नेतृत्वको भीम अस्पताल विकास समितिले राम्रो काम गरेको बताए । अस्पताल विकास समितिका सदस्य संगिता रेग्मीको धन्यवाद ज्ञापन तथा अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

्
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij