२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

आइतवार , भाद्र १३, २०७८

दुबई, १३ भदौ ।
संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नु भन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।

दुबईले गत वर्ष ६ महिने ‘दुबई एक्स्पो २०२०’ मार्फत् लाखौं आगन्तुकहरूलाई आकर्षित गर्ने र अर्थव्यवस्थालाई सुदृढ पार्ने योजना ल्याएकोमा स्वास्थ्य संकटले एक वर्ष ढिलो गरी अक्टोबरमा यसको आयोजना गर्न लागेको हो । गत हप्तामा २४ घण्टाको अवधिमा कोभिड–१९ संक्रमित दरमा महिनौपछि एक हजारभन्दा कम संक्रमित भेटिएको र यो नियन्त्रणको दिशातिर गएको भन्दै यूएईले व्यापारिक तथा पर्यटकीय गतिविधिमार्फत् महामारीका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोभिड–१९ नियन्त्रणका लागि लिइएका प्रतिबन्धात्मक उपायहरूलाई क्रमशः अन्त्य गर्दै जाने निश्कर्षमा पुगेको यहाँको समाचार संस्था वाम (डब्लुएएम)ले अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ । 

योग्य व्यक्तिहरूलाई विश्व स्वास्थ्य संगठनद्वारा अनुमोदित एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन, मोडेर्ना, फाइजर, सिनोफार्म र सिनोभ्याक नामक कोभिड-१९ विरूद्धका खोपहरूमध्ये कुनै एक खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ । यो निर्णय पहिले प्रतिबन्धित देशहरूबाट आएका लगायत सबै देशका नागरिकहरूमा लागू हुने वामले जनाएको छ । यद्यपि पर्यटक भिसामा आउने यात्रुहरूले विमानस्थलमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ । कोभिड महामारीको बीचमा देशको जीवन धेरै हदसम्म सामान्य भएको भए पनि यसले मास्क लगाउने र सामाजिक भेलासम्बन्धी कडा नियमहरू लागू गरिरहेको छ । युएईमा हालसम्म सात लाख १५ हजार व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ भने दुई हजार ३६ संक्रमितको मृत्यु भएको सरकारी तथ्यांकमा जनाइएको छ । रासस/एएफपी