
आइतवार , भाद्र १३, २०७८
बुटवल, १३ भदौ ।
चीनको ऐतिहासिक तथा सांस्कृतिक सहर सियानमा हुने एसिया र युरोप स्तरीय युवा चित्रकला प्रदर्शनीमा बुटवलका विद्यार्थीहरुले कोरेका चित्रकलालाई पनि सहभागी गराइने भएको छ । बुटवल उपमहानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सियान सहरले आगामी अक्टूबरमा विश्वस्तरको चित्रकला प्रदर्शनी गर्न लागेको हो । सोही प्रदर्शनीमा बुटवलका विद्यार्थीहरुले कोरेका चित्रहरु पनि समावेश गरिनेछन् ।
भगिनी सम्बन्ध स्थापना भएका आधारमा बुटवल उपमहानगरलाई चिने यो अवसर दिएको हो । यहाँबाट छानिएका पाँचवटा चित्रलाई सियान सिटीमा पठाइसकिएको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । यूरोप र एसियाका विभिन्न मुलुकका ९ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरुले कोरेका चित्रहरुसंगै बुटवलका विद्यार्थीहरुले कोरेका चित्र समेत चीनको प्रदर्शनीमा राख्ने भन्दै निमन्त्रणा आएपछि सोही उमेर समूहका बुटवलका विद्यार्थीहरुबीच प्रतिष्पर्धा गराई चित्र कोर्न लगाइएको प्रमुख सुवेदीले बताए ।
‘यो संसारलाई हेर्ने मेरो नजर र संसारमा चिनाउने मेरो नेपाल’ भन्ने सोचका आधारमा विद्यार्थीहरुले आ–आफ्ना विद्यालयमा चित्र कोरेका थिए । त्यसरी कोरिएका चित्रहरुलाई एकमुष्ठ राखेर उपमहानगरले विज्ञहरुबाट मूल्यांकन गराएको थियो ।
बुटवलका विद्यालयहरुबाट आन्तरिक प्रतिष्पर्धा गराई उत्कृष्ट भएका चित्रहरुलाई विज्ञहरुको मूल्यांकनका आधारमा छनौट गरी पाँच वटा चित्रलाई आयोजक सियान सिटीमा पठाइएको विदेश विभाग हेर्ने उपमहानगरका वरिष्ठ अधिकृत दिलबहादुर श्रेष्ठले जानकारी दिए । चित्रकला प्रदर्शनीमा यी विद्यार्थीलाई भौतिक रुपमा सहभागी गराउने नगराउने भन्ने विषयमा भने अझै टुंगो नभएको र आयोजकले पनि यसबारेमा अझै निधो नदिएको श्रेष्ठको भनाइ छ ।
बुटवलस्थित दीप बोर्डिङ स्कुलका कृष राना, कान्ति माविका प्रज्ववल पन्थी, न्यू होराइजन माविका आयशा थापा तथा कालिका मानवज्ञान माविका राजन न्यौपाने र नयाँगाउँ माविका पूर्णबहादुर थापाले कोरेको चित्रकलालाई क्रमश उत्कृष्टताका आधारमा छनौट गरिएको उपमहानगरका शिक्षा शाखाका प्रमुख टिकाराम पन्थीले जानकारी दिए ।
बुटवलका विभिन्न विद्यालयबाट कोरेर पठाइएका चित्रहरुलाई विज्ञ शान्ताराम गिरी, कृष्ण मल्ल र टिकाराम पन्थी सम्मिलित समितिले मूल्यांकन गरि उत्कृष्ट पाँचवटालाई मात्र छनौट गरेर उपमहानगरमा सिफारिस गरेको थियो । संसारमा नेपाललाई चिनाउने सोंचका साथ आ–आफ्नो देशको विद्यमान सम्पदा, परम्परा तथा संस्कृति झल्कने खालका पाँच चित्र छनौट गरेर तोकिएको मितिमै आयोजकलाई पठाइएको श्रेष्ठले बताए ।
विश्वमा मित्रवत् सम्बन्ध बढाउने प्रदर्शनी
चिनको सांघाई को–अपरेशन अर्गनाइजेशनको आयोजना आगामी अक्टूबरमा हुने उक्त कार्यक्रम युरोप र एसियाका विशिष्ट अधिकारीहरु सहभागी हुनेछन् । यसलाई आयोजकले एक उच्च प्रकारको खुला स्तरको प्रदर्शनी भनेका छन् । विश्वका प्रमुख सहरहरुका बीचमा रहेको मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउने, त्यहाँका रितीरिवाज, संस्कृति र परम्पराका माध्यमबाट संसारमा सद्भाव बढाउने सोचले कार्यक्रमको आयोजना गरिएको सियान सिटीका अधिकारीहरुले बताएका छन् ।
बुटवलका विद्यार्थीहरुले कोरेको चित्रमार्फत यहाँको मात्र नभइ समग्र नेपालको रिति रिवाज, संस्कार, संस्कृति, धार्मिक सद्भावको अवस्थालाई चित्रमार्फत प्रदर्शन गर्न लागिएको बुटवल उपमहानगरका प्रमुख सुवेदीले जानकारी दिए ।
बुटवलमा कोरिएका चित्रहरु ‘धार्मिक सद्भाव कायम’ रहेको मुलुकका रुपमा चिनाउने खालको बनाएका छन् । युरोप र एसियाका धार्मिक सद्भाव, सांस्कृतिक सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले यसप्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम गरिएको हो । समझदारी बढाउने, युवाहरुलाई संलग्न गराउने र उनीहरुमार्फत एक आपसमा सभ्यताको जानकारी लिने÷दिने छन् । बुटवल उपमहानगरपालिका र सियान सिटीका बीचमा केही वर्ष अघि भगिनी सम्बन्ध स्थापना भएको थियो । यी दुबै सहर सांस्कृति र ऐतिहासिक शहर मानिन्छिन् । सियान सहर त्यहाँका नेता माओ र हालका राष्ट्रपति सि–चीन पिङको जन्म शहर पनि हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij