
शनिवार , भाद्र १२, २०७८
बुटवल, १२ भदौ ।
नेपाल बाल संगठन रुपन्देहीले राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला, बाल गीत तथा कविता वाचन प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रत्येक वर्षको भदौ २९ गते मनाइने बाल दिवसलाई लक्षित गरी जिल्लाका विद्यालय तथा बालबालिकाहरुको सहभागिता रहने गरी भदौ १८ गते प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बुटवलको बालमन्दिरमा आयोजना गरिने प्रतियोगितामा सहभागिताका लागि जिल्लाका सबै विद्यालयहरुलाई पत्राचार भइसकेको कार्यक्रम संयोजक अञ्जु श्रेष्ठले जानकारी दिइन् । कक्षा एकदेखि ६ सम्म र कक्षा सातदेखि १० सम्मका विद्यार्थीहरुलाई दुई तहमा वर्गीकरण गरी आयोजना गरिने प्रतियोगिताको विजेतालाई नगद ८ हजार, उप विजेतालाई ५ हजार तथा तृतीय हुनेलाई ३ हजार पुरस्कार राशी राखिएको संस्थाकी कल्पना पाण्डे मगरले जानकारी गराइन् । सहभागिताका लागि २ हजार प्रवेश शुल्क राखिएको र प्रतियोगिता सम्पन्न गर्न २ लाख बढी खर्च अनुमान गरिएको छ ।
वि.स. २०२१ सालमा स्थापना भएको बाल संगठनले अनाथ असाहय बालबालिकाहरुलाई निःशुल्क रुपमा शिक्षा दिनुका साथै राहतका कार्यक्रमहरु समेत गर्दै आएको छ । बालबालिकाको अन्तरनिहित सुशुुप्त प्रतिभालाई प्रस्फुटन गराई सुयोग्य र सक्ष्म नागरिक बनाउने उद्देश्यबाट प्रेरित भई संगठनले काम गरिरहेको संगठनका रुपन्देही अध्यक्ष साजन भण्डारीले बताए ।
प्रतियोगिता बारे जानकारी गराउन शनिबार बुटवलको बालमन्दिरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संगठनका क्रियाकलापहरुमा थप सक्रिय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । संगठनको वि.सं. २०४९ सालमा निर्माण भएको विधानलाई नै टेकेर क्रियाकलापहरु सञ्चालन गर्दा केही असहज भएको गुनासो गर्दै उनले परिमार्जनको आवश्यकतामा जोड दिए । नेपालका ७७ वटै जिल्लामा रहेको यस संगठनले सरकारको मातहतमा रहे पनि आफ्नै कोष परिचालन गरी कार्यक्रमहरु गर्दै आएको छ । बुटवलमा रहेको बालमन्दिरमा हाल ३२ जना वेसहरा बालबालिकाहरुले अध्ययन गरिरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij