
उपचार खर्च आफै तिर्नुपर्ने
शनिवार , भाद्र २७, २०७७
सिओल, २७ भदौ ।
मलेसियाको क्वालालम्पुर ट्राञ्जिट भएर शुक्रवार दक्षिण कोरिया आएका एक नेपाली विद्यार्थीमा सोही दिन नै कोरोना संक्रमण पुष्टि भएको छ । उनी बिहीवारको मलेसियन एयरलाइन्समा क्वालालम्पुर र क्वालालम्पुरबाट कोरियन एयरमा कोरियाको ईञ्छन आएका थिए । इञ्छनबाट जेजु पुगेका उनमा शुक्रबार सांझ नै संक्रमण पुष्टि भएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव डा. विमल सुवेदीले जानकारी दिए ।
नेपालबाट उनीसंगै ९ जना सोही ट्राञ्जिट भएर आएको भए पनि आठ जनाको भने रिपोर्ट नेगेटिभ आएको र उनीहरु क्वारेण्टाइनमा रहेको बताइएको छ । संक्रमितलाई हाल जेजु नेस्नल युनिभर्सिटिमा राखिएको छ ।
यहाँ बस्दै आएका विदेशीलाई कोरोना संक्रमण पुष्टि भएमा सम्पूर्ण उपचार खर्च सरकारले नै गरिदिने भए पनि, शुक्रबार संक्रमित नेपाली विद्यार्थीले भने सम्पुर्ण उपचार खर्च स्वयंले नै तिर्नुपर्ने बताइएको छ ।
कोरिया सरकाले गत महिना परिवर्तन गरेको नयाँ नियम अनुसार विदेशबाट आउने विदेशीलाई कोरोना संक्रमण पुष्टि भएको खण्डमा सम्पुर्ण उपचार खर्च विरामी स्वयंले तिर्नुपर्ने उल्लेख छ ।
डा. सुवेदी भन्छन्– ‘कोरोना महामारीले कोरियामै भएका विद्यार्थी समेत समस्या परिरहेको अवस्थामा नेपालबाट नयाँ आएका विद्यार्थीले आउँदाको दिनदेखि नै समस्याको सामना गर्नुपर्ने भएको छ ।’
आफुले नेपालका कन्सलटेन्सीहरुलाई यस्तो महामारीमा कोरियामा नेपाली विद्यार्थी नपठाउन सुझाएको भए पनि उनीहरुले विभिन्न देशको ट्राञ्जिट मिलाएर विद्यार्थी पठाउने प्रयास गरिरहेको सुवेदी बताउँछन् ।
कोरियाका नेपाली विद्यार्थीहरुको संस्था ‘सोनसिक’का अध्यक्ष राजाराम श्रेष्ठले अहिलेको अवस्थामा माहामारी रहुञ्जेल नेपाली विद्यार्थी कोरिया नपठाईदिन नेपालमा सञ्चालित कन्सल्टेन्सीहरुलाई आग्रह गरेका छन् ।
कोरियाको नियम कानुन थाहा नहुँदा सामान्य समयमा कोरिया आउने विद्यार्थीले समेत कोरियामा चर्को आर्थिक समस्या झेल्नुपरेको स्मरण गराउँदै श्रेष्ठले अहिलेको यो महामारीको समयमा हतार गरेर कोरिया नआउन कोरिया आउने तयारी गरिरहेका नेपाली विद्यार्थीसँग आग्रह गरेका छन् ।
श्रेष्ठ थप्छन् ‘कोरियाका युनिभर्सिटिहरुले अनलाइन कक्षाहरु सञ्चालन गरिरहेकाले महामारी मत्थर नहुँदासम्म नेपालबाटै अनलाइन कक्षामा सहभागी हुनुहोस ।’
कन्सल्टेन्सीदेखि चर्को रकम बुझाउँदै आएका नेपाली विद्यार्थीले चर्को हवाई भाडासंगै कोरियामा आएर यहाँका अस्पताललाई उत्तिकै शुल्क तिनुपर्ने भएको छ ।
संक्रमित विद्यार्थीले कम्तिमा ५ लाख नेपाली रुपैयाँ उपचारमा मात्र खर्च गर्नुपर्ने अनुमान छ । यसका साथै नयाँ आउने विदेशीले दैनिक १ लाख वन तिरेर सरकारी क्वारेन्टिनमा बस्नुपर्ने अनिवार्य छ । कोरोना नेगेटिभ देखिएका विद्यार्थीले समेत मानसिक समस्या झेल्नुपर्ने भएकाले सकेसम्म अहिलेको अवस्था कोरियामा नआउन यहाँका नेपाली विद्यार्थीहरुको आग्रह छ ।
कोरोनाका कारण रोजगारी गुमिरहेको अवस्थामा तत्काल रोजगारी पाउने अवस्था पनि नभएको र कोरियामा नयाँ आउने विद्यार्थीले ६ महिनासम्म पार्टटाईम जागिर गर्न समेत नपाउने नियम रहेको सरोकारवालाको भनाइ छ ।
सोहि कन्सलटेन्सीमार्फत विहीवार थप ९ जना मलेसियन एयरमा मलेसिया ट्राञ्जिट हुँदै कोरिया आउने तयारीमा रहेको बताइएको छ । यो सँगै कोरियामा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij