२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरियामा सोमवारदेखि प्लाज्मा दान अभियान सुरु, देशभर ४६ स्थानमा प्लाज्मा दान केन्द्र तोकिए

आइतवार , भाद्र २१, २०७७

सिओल २१ भदौ। दक्षिण कोरिया सरकारले कोरोना संक्रमण निको भएका व्यक्तिलाई प्लाज्मा दान गरी सहयोग गर्न अपिल गरेको छ । सरकारले सोमबार प्लाज्मा दान गर्न सहजताकालागि देश भर ४६ ओटा स्थानमा प्लाज्मा दान केन्द्र स्थापना गरेको छ ।

कोरोना संक्रमण भई निको भएका व्यक्तिको प्लाज्माबाट संक्रमितको उपचारमा प्रभावकारी देखिएपछि यस्तो अभियान सुरु गरिएको सरकारको भनाई छ । सउल महानगर भित्र २१ स्थानमा रहेका रेडक्रस केन्द्रमा प्लाज्मा दान गर्न सकिनेगरी व्यवस्था गरिएको छ । त्यस्तै राजधानी बाहिर २५ स्थानमा प्लाज्मा दान गर्न सकिने केन्द्र तोकिएको छ । सोहि अभियान अन्तर्गत कोरियामा पहिलो चरणको कोरोना संक्रमण महामारी फैलिएको केन्द्र सिञ्छन्जी चर्चका १६ सय भन्दा बढी सदस्यले आईतवार प्लाज्मा दान गरेका छन् ।

कोरोना संक्रमण भई निको भएका १६ सय ४५ जना सदस्यले उपचाररत संक्रमितकालागि प्लाज्मा दान गरेको चर्चलाई उद्धृत गर्दै कोरियाली संचारमाध्यमले जनाएका छन् । प्लाज्मा दान गर्नेहरुकालागि सरकारले ३ लाख वन सहयोग गर्दै आएको भएपनि चर्चका सदस्यले भने सरकारको उक्त सहयोग लिन अस्विकार गरेका छन् । चर्चले भन्यो, ‘‘देशले हामीलाई कोरोना पोजेटिभ हुँदा निशुल्क परीक्षण र उपचार गर्यो, त्यसको सट्टामा हामीले सहयोग फर्काएका हौँ ।’’ सिञ्छन्जी कोरियामा हाल सम्म सबै भन्दा ठुलो सामुहिक संक्रमणको केन्द्र हो ।

चर्चमा आवद्ध ४ हजार ५ सय जना सदस्य भाईरसबाट संक्रमित भएको सरकारी तथ्याङ्क छ । दक्षिण कोरियामा हाल सम्म कोरोना संक्रमितको संख्या २१ हजार १ सय ७७ पुगेको छ । संक्रमणकै कारण ३ सय ३४ जनाले ज्यान गुमाएका छन् भने १६ हजार १ सय ४६ जना निको भएका छन् ।