
आइतवार , भाद्र २१, २०७७
नवलपरासी, २१ भदौ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ स्थित मिश्रौलीका ४० वर्षीय विष्णु प्रसाद भण्डारी ६ वर्ष अघिसम्म रोजगारीको लागि भारतमा थिए । त्यहाँ राम्रो कमाई नभएपछि घर फर्किएका उनी गाउँमै ज्याला मजदूरी गरी श्रीमती र १ छोरासहित ३ जनाको परिवार पाल्दै आइरहेका थिए ।
बस्नका लागि सामान्य ब्लकको गारो र टिनले छाएको सानो घरबाहेक सम्पत्तिको नाममा उनीसंग केही थिएन । आफुले दिनभरी मजदूरी गर्ने र श्रीमतीले घर नजिकैको विद्यालयमा पिउनको जागिर गरेर आएको कमाईले परिवारमा जसोतसो बिहान बेलुका हातमुख जोर्न पुगेकै थियो भने १३ वर्षिय छोरालाई ६ कक्षासम्मको शिक्षा दिइरहेकै थिए । सानो मान्छेका सानै सपना भने जस्तै छोरालाई धेरैथोर पढाउने र बिहानबेलुका दुईछाक खान पाए त्यहाँभन्दा ठुला सपना उनीहरुसंग थिएन ।
गत मंसिरको अन्तिमतिर विष्णुलाई घाँटी दुख्ने समस्या देखा पर्यो । स्थानीय मेडिकलबाट औषधि ल्याएर सेवन गर्दा समेत दुःखाइ कम नभएपछि सबैको सल्लाह अनुसार उनलाई पुरानो मेडिकल कलेज भरतपुरमा पु¥याइयो । पुरानो मेडिकल कलेजले उनको आर्थिक अवस्था कमजोर भएको बुझेपछि क्यान्सर रोगको शंका गरी त्यहाँ उपचार हुन नसक्ने भन्दै बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान सुझाए । पुरानो मेडिकल कलेजको सल्लाह अनुरुप भण्डारीलाई उपचारको लागि पुष महिनाको सुरुतिर बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा लगियो ।
सोही अस्पतालका डाक्टर दिलिप कर्माचार्यले उनको स्वास्थ्य परीक्षण गरी पहिलो चरणको जिब्रोको क्यान्सर भएको पुष्टि गरे । खान लाउन समेत धौधौ हुने परिवारमा श्रीमानलाई क्यान्सर जस्तो रोग र खर्चिलो उपचार पद्धति सुन्दा श्रीमती दीपा छांगाबाट खसेजस्तै भइन । दीपा न त भर्खर ४० पुगेको श्रीमानलाई गुमाउन सक्थिन न त १३ वर्षको छोरोको भविष्य नै बिगार्न चाहन्थिन । आफुसंग साथमा भएको केही रकमले श्रीमानलाई सोही अस्पतालमा भर्ना गरेर औषधीउपचारमा लाग्नु सिवाय दीपासंग अन्य कुनै विकल्प थिएन । सोही अस्पतालमा सुरुमा २२ दिनसम्म भर्ना गरी उनलाई क्यान्सरको संक्रमण अन्य ठाउँमा फैलिन नदिन र घाउ सुकाउनको लागि रेडियोथेरापी माध्यमबाट (क्यान्सर भएको भागमा सेक्ने काम) उपचार गर्दै राखियो । केही दिन अस्पतालमा औषधी उपचार गर्दा आफुसंग भएको सबै रकम सकिएपछि आफ्ना श्रीमानसंगै दीपा घर फर्किइन । घर फर्केपछि श्रीमानको थप उपचारक ालागि रकम अभाव भएपछि दीपा गाउँगाउँमा चन्दा रकम सहयोग माग्दै हिडिन । स्थानीय संघसंस्था, आमा समुह, छरछिमेक, विभिन्न विद्यालयबाट गरी उनले झण्डै २ लाख रुपैयाँ जति चन्दा संकलन गरिन ।
त्यसपछि पनि अस्पतालले हप्तैपिच्छे बिरामीको घाउमा सेक्न आउनुपर्ने बताएकाले दीपाले आफ्ना श्रीमानलाई हरेक आइतबार देखि बिहीबारसम्म (हप्ताको ५ पटक) सार्वजनिक गाडीबाटै घरदेखि भरतपुर अस्पतालसम्म लैजाने र ल्याउने गरिरहिन । अहिलेसम्म ३५ पटक बिरामीको घाउमा रेडियोथेरापी माध्यमबाट सेक्ने काम भयो । यो बीचमा आफुसंग भएको र चन्दावापत संकलन भएको झन्डै साढे २ लाख रुपैयाँ खर्च भयो ।
कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै चैत्र ११ पछि देशभर लकडाउन गरियो । बिरामीको घाउमा असोज महिनासम्म निरन्तर सेकिरहनुपर्ने र असोजको पहिलो साता घाउको स्थिति सुधार भए÷नभएको पत्ता लगाउन एमआरआइ गर्नुपर्ने बताउदै त्यो अवधिसम्म घाउ सेक्नको लागि हप्तैपिच्छे अस्पताल आउन उपचारमा संलग्न डाक्टरहरुले बताएका थिए । तर लकडाउन भएसंगै सार्वजनिक यातायात बन्द भएका कारण दीपाले रकम अभावमा श्रीमानलाई गाडी रिजर्भ गरि अस्पतालसम्म लैजान सकिनन् ।
गत असारमा लकडाउन केही खुकुलो भएपछि सिमित सार्वजनिक यातायात चल्न थालेको मौका छोपी दीपाले श्रीमानलाई अस्पताल पु¥याइ घाउ सेकाएर फर्किइन । त्यसलगत्तै पुनः लकडाउन थपिएपछि भने दीपाले गाडी रिजर्भ गरी श्रीमानलाई पटकपटक उपचारमा लान सक्ने स्थिति बनेन । उपचारमा लान नसकेपछि र अस्पतालले दिएको औषधी सकिएपछि पछिलो समय विष्णुको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । गहभरी टिलपिल आंसु बोक्दै दीपा भन्छिन् ‘दैनिकजसो घाउ दुखेर मुर्छा पर्नुहुन्छ, कहिले त छिमेकीलाई बोलाएर रातभरी कुरेर बस्छौं । उनले भनिन्‘ नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाउँछु तर दुःखाइ अलिकति पनि कम हुँदैन ।’ चन्दा वापत संकलन भएको रकम पनि सबै सकिएपछि अब श्रीमानको थप उपचार गर्ने सक्ने उपाय दीपासंग छैन । न त खेतबारी बेच्न जग्गाजमिन नै छ न त ऋण कसैले नै पत्याउँछन् ।
अब केहि समय निरन्तर घाउ सेकिरहने र औषधी खाइरहने हो भने बोल्न नसक्ने भए पनि सामान्य काम गर्ने सक्ने गरी श्रीमान् निको हुने भन्दै त्यसको लागि अझै करिब २ लाख रुपैयाँ भन्दा बढी रकम खर्च हुने डाक्टरले बताएको दीपाले सुनाइन् । तर सोही रकम पनि जुटाउन नसक्दा थप उपचार गर्न नसकेर कतै श्रीमानको अल्पायुमै मृत्यु पो हुने हो कि भन्ने दीपाको मनमा चिसो पस्न थालेको छ । दीपाले आफ्नो श्रीमानको जीवन रक्षा र सानो छोरोको भविष्यका लागि ग्लोबल आइएमई बैंक भुमही शाखामा दीपा भण्डारीको नाममा रहेको आफ्नो खाता नम्बर [B407010000320] मा सहयोग रकम जुटाइदिन र मोबाइल नम्बर ९८१९४१२३८५ मा सम्पर्क गरि सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij