भैरहवा, २५ असार। रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पडसरीका ३९ वर्षिय सचिन्द्र तुलाधर (सचिन) लाई बिहेको लगनको महिनामा भ्याइनभ्याइ हुन्छ। उनी अन्य समयमा पनि प्राय व्यस्त हुन्छन्। बिहेको लगन सुरु भएसंगै वैवाहिक कार्यक्रमका तस्विर र भिडियो छांयाकन गरिदिन उनलाई निरन्तर फोन आइरहन्छ। त्यस्तै बिहेको लगनबाहेकको समयमा सामाजिक संघ–संस्थाका कार्यक्रम, गोष्ठी, भेला, साधारणसभा, अधिवेशन, पदस्थापन लगायत विभिन्न कार्यक्रममा पनि उनलाई तस्बिर खिच्न र भिडियो छांयाकन गरिदिन निम्तो आउँछ। प्राय विभिन्न कार्यक्रममा सचिन्द्र भेटिन्छन्।
सबैका लागि सहज भएका कारण उनी फोटो तथा भिडियो व्यवसायमा सजिलै रमाउन सकेका हुन्। नम्र व्यवहारका धनी सचिन्द्र सबैका प्रिय पनि छन्। उनको हसिलो मुहार र सबैसंग घुलमिल हुन सक्ने क्षमताका कारण पनि उनी यो पेशामा रमाउन सकेको उनीसंग काम लिएकाहरु बताउँछन्। आफूलाई विभिन्न ठाउँबाट तस्विर खिच्न र भिडियो छांयाकन गर्न आउने निम्तोले कामप्रति सन्तुष्ट भएको उनले भनाइ छ। ‘मेरो काम हेरेर नै मलाई विभिन्न स्थानमा बोलाउने गरिन्छ, म उहाँहरुको रोजाईमा परेको छु, यही नै मेरो कमाई हो, म आफ्नो पेशाबाट सन्तुष्ट नै छु, ’तुलाधरले भने। आफूले ६–७ जनालाई तालिम दिएको र उनीहरु अहिले भारतको नौतनवादेखि नेपालको पाल्पासम्म कार्यरत रहेको उनले बताए। तुलाधर आफूलाई ‘वेडिङ मास्टर’ भन्न रुचाउँछन्। ब्लास्ट भिजन फिल्मस् (फिल्म एण्ड म्यूजिक भिडियो प्रोडक्शन) का प्रबन्ध निर्देशक समेत रहेका तुलाधरले ग्राहक र शुभचिन्तकले दिएको हौसलाले काम गर्न उर्जा थपिएको बताउँछन्। उनी सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर युथमा समेत आबद्ध छन्।
अग्रज पत्रकार चेतन पन्त सचिन्द्र तुलाधर युवा पुस्ताका राम्रो क्यामेरापर्सन भएको बताउँछन्। उनले भने, ‘सचिन्द्रमा लगनशिल भएर काम गरेको देखे, उहाँको काम राम्रो लाग्छ, भिडियो सम्पादन पनि राम्रो गर्नुहुन्छ।’ तुलाधरले भोजपुरी फिल्मको छांयाकन र निर्माताको भूमिका रहेर समेत काम गर्दै आएको अग्रज पत्रकार पन्तले बताए। जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष मंगल भण्डारी सचिन्द्र तुलाधरको फोटोग्राफी राम्रो रहेको बताउँछन्। उनले भने, ‘फोटो खिच्ने, भिडियो छांयाकन गर्ने र चलचित्रमा अभिनय समेत गर्ने सचिन्द्रको काम निकै राम्रो छ।’ उनको यो कलाको हामीले पनि प्रयोग गर्न पाउँदा खुसी छौ। लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडिजका संस्थापक अध्यक्ष अञ्जु जैसीले फोटोग्राफर सचिन्द्र तुलाधर एकदमै सहयोगी र मिहिनेती भएको बताइन्। उनले भनिन्, ‘कार्यक्रममा खिचेका फोटोहरु फेसबुकमा पोष्ट गर्नुहुन्छ, कार्यक्रममा पनि समयमा नै आउनुहुन्छ,’ उहाँको बानी राम्रो छ।
पहिलाको तुलनामा अहिले काम गर्न अलि असहज भएको तुलाधर बताउँछन्। भिडियो तथा फोटोग्राफी पेशामा अवसर र चुनौती दुवै रहेको उनको भनाइ छ। ‘पहिला यो क्षेत्रमा खासै प्रतिष्पर्धा थिएन, अहिले प्रतिष्पर्धा बढ्न थाल्यो, क्यामेरा सस्तो थियो, कामको मुल्यांकन हुन्थ्यो, तर अहिले पहिला जस्तो छैन्, उनले भने, क्यामेरा महंगो छ, तर काम कम मूल्यमा पनि गर्नुपरेको छ।’ ‘कुनै बेला रिलको माध्यमबाट सीमित फोटो खिच्न पाइन्थ्यो, उनले सम्झे रिल सकिन्छ, सीमित फोटो खिचौं भनिन्थ्यो, तर अहिले प्रविधिले फड्को मारेको छ, फोटो र भिडियोका लागि प्रविधिले सहज बनाइदिएको छ, ’उनले भने।
फोटोग्राफीसंगै चलचित्र क्षेत्रमा पनि
विगत १२ वर्षदेखि भैरहवा क्षेत्रमा रहेर भिडियो तथा फोटोग्राफी पेशा गर्दै आएका तुलाधरले नेपाली चलचित्र ‘नारीको इज्जत’ मा पनि निर्माता तथा छांयाकनको भूमिका निर्वाह गरेका छन्। बुटवलको पाँचतल्ले भवनबाट हाम फालेको दृश्य उक्त चलचित्रमा हेर्न सकिने उनी बताउँछन्।
नेपालीका साथै स्थानीय भोजपुरी चलचित्रहरुमा पनि उनले छांयाकन तथा निर्माताको जिम्मेवारी पाएका थिए। मर्चवारमा छांयाकन गरिएको उनको पहिलो भोजपुरी म्युजिक भिडियो ‘कैसे रतिया बिताई’ ले निकै चर्चा पायो। करिब ७० वटा भोजपुुरी म्युजिक भिडियो उनले बनाइसकेका छन्। तुलाधरले लोकदोहोरी तथा आधुनिक गीतमा मोडलिङ समेत गरेका छन्। त्यसै गरी उनले विभिन्न चलचित्रमा खलनायकको भूमिका निभाएका छन्। तुलाधर विभिन्न अवार्डबाट समेत सम्मानित भइसकेका छन्।
उनले सञ्चार क्षेत्रमा पनि काम गरेका छन्। भैरहवास्थित सिद्धार्थ एफएममा ७ वर्ष र भैरहवा एफएममा ४ महिना प्राविधिक प्रमुखको रुपमा काम गरेको उनी बताउँछन्। ‘मलाई सञ्चार क्षेत्रमा अझै पनि काम गर्ने मन छ, तर कामको चापले समयको व्यवस्थापन गर्न समस्या भएर निरन्तरता दिन सकिन,’ उनले भने।