images

आइतवार, बैशाख २३ गते २०८१

कोरोना कहर : पार्किङ्गमै खिया लाग्न थाले बस 

कोरोना कहर : पार्किङ्गमै खिया लाग्न थाले बस 

images
images
images
आइतवार, आषाढ १३ २०७८
आइतवार, आषाढ १३ २०७८
  • कोरोना कहर : पार्किङ्गमै खिया लाग्न थाले बस 

    बुटवल, असार १३। बिश्वब्यापी महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमणका कारण हरेक जसो ब्यबसाय अहिले पनि ठप्प प्राय छ। कोरोनाको कारण अन्य व्यवसाय जस्तै बस व्यवसायी पनि ठुलो मर्कामा परेका छन्। कोरोना कहरका कारण लामो समयसम्म संचालन हुन नसकेको सार्वजनिक यातायात मध्ये यात्रुबहाक बसहरु संचालन हुन नसक्दा बैंकको ऋण तिर्न र घरखर्च चलाउनै धौधौ पर्न थालेको ब्यबसायीहरु बताउछन्।   

    images
    images
    images

    ब्यबसायीहरु भन्छन्–‘बिगत लामो समयदेखि बस पार्किङ्गमा थन्किएका छन्। यता घरखर्च चलाउनै मुस्किल छ, उता बैंकले रातदिन फोन गरेर हैरान छ।’ रातको निद्रा न दिनको भोक भन्ने उखान सार्थक भएको बस ब्यबसायी कृष्णप्रसाद अर्यालको भनाई छ। कोरोना कहरका कारण बिगत १५ महिनादेखि सास्ती खेप्दै धरासायीको संघारमा पुगेका बस ब्यबसायीहरुलाई कुनै किसिमको राहत प्याकेजको ब्यबस्था नगरेको भन्दै अर्यालले गुनासो गरे।  

    बस संचालक जिवन बन्जाडेका अनुसार स्वदेशमै केही गरौं भन्ने उद्देश्यले लाखौं रुपैयाँ ऋण लिएर खरिद गरिएको सार्वजनिक बस संचालन गर्न नपाउदा जिविकोपार्जनमै कठिनाई उत्पन्न हुन थालेकोमा ब्यबसायीहरु थप चिन्तित बनेका छन्। सवारी साधनहरु महिनौं दिनसम्म घरमै थन्काउदा मर्मत संभारको अभावमा बिग्रीएर कवाडमा परिणत हुने अवस्थामा पुगेका छन भने बैंक र साहुहरुले रकम असुलीका लागि ताकेता गर्न छाडेका छैनन्।

    संचालक बन्जाडे भन्छन्–‘पीडा माथि पीडा छ हजुर, बस थन्काएर राख्दा राख्दै जिर्ण बनिसके, कतिपय बसमा त खिया नै लागिसक्यो, संचालन हुने कहिले हो निश्चित छैन्। सरकारले कुनै बैकल्पिक योजना ल्याउदैन, हामी निकै मारमा छौं। सबै भन्दा बढि नराम्ररी प्रभावित ब्यबसाय मध्ये बस ब्यबसाय पनि हो, तर अन्य क्षेत्रलाई बिभिन्न राहत प्याकेज घोषणा गरेको सरकारले राष्ट्रिय अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगटेको बस ब्यबसाय क्षेत्रलाई भने कुनै सम्बोधन गरेको छैन।’

    सँधै यात्रु र बसले खचाखच र भरिभराउ हुने बुटवल स्थित लुम्बिनी बसपार्क, भैरहवा स्थित सिद्धार्थ बस पार्क अहिले भने सुनसान देखिन्छ। व्यवसायीहरु आफ्ना करोडौंका सवारी साधन खिया लाग्दा मलिन अनुहार लिएर सवारी साधन हेर्दै टोलाई रहेका देखिन्छन्। उता मैनावगरमा पनि पार्किङ्ग स्थानमा सयौं सवारी साधन रहेका छन्। जहाँ व्यवसायीहरुले दिनको ७५ रुपैयाँ तिरेर राख्नु बाद्यता रहेको व्यवसायी बताउछन्। उनिहरु भन्छन्–‘सवारी साधन थपक्क खडा गर्दा पनि घाटै छ पीडित ब्यबसायीहरुलाई, घर खान खर्च छैन यता पार्किङ्गको तिर्नु पर्छ, अझ बैंक र साहुको ताकेताले त हैरानै पार्छ’

    अर्का संचालक मोहन पिएस भन्छन्–‘लामो समयदेखि थला परेको ब्यबसायले टाउको उठाउन पाएको छैन् सरकार कर तिर्न निर्देशन गर्छ, बैंकले किस्ता ब्याज बुझाउन आईज भन्छ, कसरी सकिन्छ हो?’ संचालक पिएसका अनुसार गत वर्षदेखि शुरु भएको कोरोना कहरका कारण थला परेको यातायात क्षेत्र थोरै गति लिन लागेको मात्रै के थियो फेरी कोरोनाको दोस्रो लहरले पूर्ण बन्द हुन पुग्यो। 

    नेपालमै सबैभन्दा धेरै यातायात ब्यबसायीहरु संगठित रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रा.लिमा करिव २४ सय बसहरु संचालनमा रहेका छन्। पाँचहजार भन्दा बढी मजदुरहरु आवद्ध रहेको यो संस्था कोरोनाले थिलो थिलो परेको छ। बस संचालन नहुदा ब्यबसायी र मजदुरगरि झण्डै १० हजार परिवार प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभावित बनेका छन्। उता सरकारले सार्वजनिक बसहरु कसरी संचालन गर्न सकिन्छ भनेर सरोकारवाला हरुसँग छलफल शुरु गरेको छ। तर बस संचालकहरुले राख्दै आएको बैज्ञानिक भाडादर कायम गर्न सरकार आनाकानी गर्दै आएको छ। बढ्दो महंगीको भार थेग्न र कोरोना कहरका कारण थला परेका बस ब्यबसायीलाई संजिवनी बुटी प्रदान गर्न बैज्ञानिक भाडादर बाहेक अरु कुनै बिकल्प नरहेको उनिहरु बताउछन्। 

    Bus p (2).jpg

    यात्रुलाई गुणस्तरिय सेवा प्रदान गर्न ब्यबसायीहरु प्रतिबद्ध रहेको भएपनि सरकारी उदासिन्ताका कारण आफुहरु पटक पटक मारमा परेको पश्चिम नेपाल बस ब्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल बताउछन्। खरेल भन्छन्–‘७२ रुपैंयाको डिजेल हुदाँको भाडा आज १ सय ८ पुग्दासम्म उहि छ। महंगीले नेटो काट्यो दैनिक उपभोग्य सामाग्रीहरु सयौं गुना मूल्य वृद्धि भएको छ तर यातायात क्षेत्रको भाडादरमा भने कुनै परिर्वतन हुन सकेको छैन।’ 

    खरेलका अनुसार र्फन्ट लाइनमा काम गर्ने यातायात मजदुरहरुलाई जवसम्म खोपको व्यवस्था हुदैन तवसम्म सवारी संचालनमा व्यवसायीहरु पुग्न नसक्ने अवस्था पनि छ। कोरोना बिरुद्धको खोप लगाउने क्रममा पनि सरकारले भेदभाव गरेको अध्यक्ष खरेलको आरोप छ। ७५ प्रतिबशत स्वरोजगार व्यवसायी आफै सवारी चलाउने हुदाँ उनिहरुसँग घरपरिवार पनि असुरक्षित रहेकाले यथासक्य छिटो खोपको व्यवस्था हुनु पर्नेमा अध्यक्ष खरेलको जोड छ । कोरोना कहर केही कम भएसँगै सरकारले निषेधाज्ञालाई केहि खुकुलो पादै गएको छ तर २ वर्षदेखि मारमा परेका व्यवसायीहरुको माग सरकारले पुरा नगर्दा आफुहरु झनै मारमा परेको उनले बताए।

    Bus p (1).jpg

    सिद्धार्थ सार्वजनिक यातायात प्रालिका सञ्चालक सुनीलराज बिष्टले सरकारले बस व्यवसायिलाई अन्य व्यवसायिलाई जस्तै राहतको कार्यक्रम ल्याउनु पर्ने बताए। उनले बसको भाडादरलाई बैज्ञानिक तरिकाले समायोजन गर्नु पर्ने बताए। उनले बस व्यवसायि, चालक तथा सहचालकलाई पनि खोपको व्यवस्था गर्नु पर्ने बताउदै बैज्ञानिक भाडादर कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर सार्बजनिक बस संचालन गर्न पाउनु पर्ने बताए। बिष्ट भन्छन्–‘सरकारले जवसम्म बैज्ञानिक भाडादर कायम गर्दैन, हामी सवारी चलाउदैनौ। करोडौं लगानी गर्दा लिइएको बैंकको व्याज तिर्न आज घरखेतसम्म बेच्नु परेको नमिठो अनुभव समेत व्यवसायीहरुसँग रहेको छ।’ 

    समय समयमा हुने छलफलहरुमा यातायात क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताए पनि त्यो कार्यान्वयन हुन सकेको छैन। समस्या समाधानका लागि अग्रसरता र समन्वयकारी भुमिका राज्यले गर्नुपर्ने कुरा व्यवसायीहरुको माग छ। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij