२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

आ.व. २०७७/७८ मा साना उद्योगको दर्ता दस्तुर पूर्ण छुट गर्ने निर्णय

बिहिवार , भाद्र ११, २०७७

बुटवल, ११ भदौ ।
प्रदेश नम्बर ५ प्रदेश सरकारको बिहीवार (आज) बसेको वैठकले विभिन्न सात वटा निर्णयहरु गरेको छ । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले प्रदेशस्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धि मस्यौदा गर्न स्वीकृति प्रदान गर्ने, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग र प्रदेश पूर्वाधार विकास प्राधिकरणको संगठन संरचना तथा अस्थायी दरबन्दी स्वीकृति प्रदान गरिने, कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने र जसअनुसार गत साउन १ गतेदेखि आगामी पुस मसान्तसम्म थप गर्ने भएको छ ।

साथै कार्यदलमा संयोजक मुख्य न्यायाधिवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख सदस्य र विज्ञ सदस्य खुमाकान्त पौडेल रहने, प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत प्रदान गरिएको, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृति प्रदान गरिने र आर्थिक वर्ष २०७७/०७८ मा लघु घरेलु तथा साना उद्योगहरुको दर्ता दस्तुर पूर्ण रुपमा छुट गर्ने लगायतका निर्णयहरु भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर के.सी.ले जानकारी दिए ।