२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

स्टाफनर्समा कोरोना देखिएपछि क्रिमसनको ओपिडी बन्द

बिहिवार , भाद्र ११, २०७७

तिलोत्तमा, ११ भदौ ।
तिलोत्तमा नगरपालिकाको क्रिमसन अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ओपिडी विभागमा कार्यरत स्टाफ नर्समा कोरोना पुष्टि भएपछि ओपिडी शाखा बन्द गरी त्यहाँ कार्यरत कर्मचारी एवं चिकित्सकलाई निगरानीमा राखी परीक्षणको क्रम अगाडि बढाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

ती स्टाफनर्स केही दिनदेखि ज्वरोका कारण घरमै बसेकी थिइन् । तर शंका लागेर बुटवलको नेशनल प्याथल्यावमा परीक्षण गराउँदा पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले बताए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नगरपालिकाले तयार गरेको आइसोलेशनमा पठाइएको छ । 

उनमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुलाई होम आइसोलेशनमा बस्न आग्रह गरिएको गौतमले बताए । तिलोत्तमा नगरपालिकामा बुधबार मात्रै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै नगरपालिकाले गरेको कन्ट्रायाक्ट ट्रेसिङका आधार संकलन गरेको स्वावको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

नयाँ थपिएका संक्रमितहरुमा तिलोत्तमा वडा नम्बर ३ का ७ जना, वडा नम्बर २ का ६ जना र वडा नम्बर १५ का १ जना छन् । यसमध्येका केही व्यक्ति समुदायस्तरबाट संकलन गरिएको स्वावबाट संक्रमण पुष्टि भएको प्रवक्ता श्रीले बताए । 

तिलोत्तमा नगरपालिकाका अनुसार नयाँ संक्रमित थपिएसंगै तिलोत्तमामा ९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।