
सोमवार , जेठ ३१, २०७८
नेपाली सांगीतिक क्षेत्रमा विगत ३० वर्षदेखि अनवरत संघर्ष गरिरहेका एक आशा लाग्दा गीतकार हुन् गोविन्द कुइकेल । उनी नेपाली सांगीतिक क्षेत्रमा त्यति चर्चामा भने छैनन् । तर उनले नेपालका धेरै चर्चित संगितकार तथा गायकहरुमार्फत आफ्ना सिर्जनाहरु श्रोतामाझ पस्किसकेका छन् । नेपालका चर्चित संगितकारहरु उदय शमशेर राणा, शिखर सन्तोष, शक्ति बल्लभ, राजु सिंह, डीबी लामा, प्रमोद निर्माण लगायतका संगितकारहरुले उनको गीतमा संगीत भरिसकेका छन् भने नेपालका चर्चित गायक गायिकाहरु आनन्द कार्की, मिलन अमात्य, स्वरूप राज आचार्य, प्रताप दास, बालकृष्ण श्रेष्ठ, तिलक सुब्बा, दिवाकर शर्मा, प्रवेश अधिकारी र मनोज लामिछानेले उनका गीतहरु गाउन भ्याएका छन् । अहिले सांगेतिक बजारमा ‘मन दियौ मुटु दियौ माया दियौ मलाई, थाहै नपाई माया दियौ जीवन दियौ मलाई’ प्रताप दास र अनु चौधरीको स्वर र डीबी लामाले संगीत भरेको गीत चर्चामा छ ।
अहिले नेपाली संगितहरुमा पनि पश्चिममा संगितहरुको प्रभाव परिरहेको छ । यसले नेपाली संगित ओझेलमा पर्ने सम्भावना टड्कारो रुपमा देखिन थालेको छ भने गीतका शब्दहरुको चयन पनि अलि पृथक हुँदै गइरहेको छ । विगतमा नेपाली गीतहरु निर्माणको क्रममा शब्द, लय, ताल चयनमा अति ध्यान दिने गरिन्थ्यो । कडा परिश्रमका साथ गीतको निर्माण गरिन्थ्यो र श्रोता माझ पस्किने गरिन्थ्यो, फलस्वरुप गीतहरु अति कर्णप्रिय र सदाबहार हुने गर्दथ्यो । यसको उदाहरणका लागि माधव घिमिरे, रत्न शमशेर थापा, काली प्रसाद रिजाल, दिनेश अधिकारी, हरिभक्त कटुवाल, नागेन्द्र थापा, भोला रिजाल, यादव खरेल, भैरव नाथ रिमाल जस्ता अनगिन्ती गीतकारका गीतहरुलाई लिन सकिन्छ भने संगितकारहरुमा गोपाल योन्जन, अम्बर गुरुङ, शम्भुजित बास्कोटा, उदय शमशेर, नातिकाजी जस्ता अनगिन्ती संगितका श्रष्टाहरु छन्, जसलाई एकैपटक स्मरण गर्न सम्भव छैन । जो नेपालको इतिहासमा सदा चम्कि रहनेछन् ।
अहिले चर्चा गरौ गोविन्द कुइकेलको, यिनले सिर्जना गरेका गीतहरुको शब्दहरु सरल र मार्मिक छन् । ‘मेरो माया कञ्चन छ है खहरेको भेल होइन’ नहिडेको बाटो हिड्यो ठेस लाग्न सक्छ, बिन्ति मैले गरेकै हुँ, सम्झी रुनुपर्छ ।’ ‘खाएका ती सयौ कसम आज तोडीदियौ, एकोहोरो माया रैछ बाटो मोडी दियौ, ’ ‘खेलाएर राख्छ्यौ किन जीबनलाई खेलौना झैँ, भन्देउ बरु ठाउ छैन बसाई सरि जाउला अन्तै, ’ ‘भुलेरै नगर्नु माया यहाँ ईमान बेचिन्छ जमान बेचिन्छ, ’ ‘अब मायाको कुरा नगर्नु कहानी भइसक्यो, तिमीले जलाउन खोजेको मान्छे खरानी भइसक्यो, ’ ‘मैले बसाई सरेपछि चित्त दुख्यो अरे, लत्याएर छोडेपछि भन आफैले के भुल गरे ’, ‘नहेरेर के भो मलाई, नबोलेर के भो मलाई, आखिर पतझड मौसम नहु नफुलेर के’, ‘नशादेखि टाढै बस्नु भन्थ्यौ सधै साथ हुदा, नशा आज प्यारो भयो आज तिमीले साथ् छोदिदिदा,’ सिउदो तिमीले भरे पनि मुटु अन्तै साटेकीथ्यौ, त्यो सिन्दुरको के अर्थ भो मुटु अन्तै साटेकीथ्यौ, ढुंगा पनि देउता हुन्छ पुजा गरेपछि, बगरमा नि फुल्छ फुल माया रोपेपछि जस्ता मार्मिक र हृदय स्पर्श गीतहरु यिनका सृजनाहरु हुन् । यिनका गीतका शब्दहरु प्रायः प्रेम र बिछोडमा केन्द्रित हुने गर्दछन् । अहिले पश्चिमा संगितको नक्कल गर्ने प्रवृत्ति हाबी भइरहेका कारण भोलिका दिनमा यस्ता मर्म स्पर्शी गीतका शब्दहरु लोप हुने त होइन ? भन्ने जिज्ञासा राख्दा यस विषयमा चर्चा हुन आवश्यक भइसकेको कुरा उनी व्यक्त गर्दछन् ।
समाजको विकाससंगै गीत संगितको विकास हुनु अपरिहार्य छ तर विकासको नाममा आफ्नो मौलिकतालाई जोगाउनेतर्फ सबैले ध्यान पुर्याउनुपर्छ र यसका लागि सबै चनाखो हुनुपर्छ अहिले बजारमा मसला गीतहरु बढी चर्चामा छन् जुन रातारात चर्चामा आउछन् र केही समयपछि हराउँछन् । यसको बाबजुद गीतकार कुइकेल यसप्रति सजग देखिन्छन् भने उनका गीतहरुमा मौलिकता झल्किएका छन् । माथि उल्लेख गरिएझैं ‘मन दियौ मुटु दियौ माया दियौ मलाई, थाहै नपाई माया दियौ जीवन दियौ मलाई’ भन्ने गीतमा अन्य गीतमाझैं यस गीतको शब्द चयनमा पनि ध्यान दिएका छन् र संगितकार डीबी लामाले पनि यस गीतको शब्दलाई सुमधुर संगीत भरिदिएर न्याय गरेका छन् । नेपालमा गीतकारहरुको चर्चा तुलनात्मक रुपमा कमै सुनिन्छ । गीतको रचना बिना संगित सम्भव छैन् र संगित बिना गायक । यसतर्फ सबैको चासो हुनुपर्दछ । नेपालमा हजारौं उत्कृष्ट गीतहरु छन् त्यसका सर्जकहरु गुमनाम छन् भनौ ओझलमा परेका छन् या ओझलमा पारिएका छन् । राज्यले यसतर्फ ध्यान दिन अतिआवश्यक छ । गीत सिर्जना गर्ने क्रममा गोबिन्द कुइकेलका गीतका शब्द चयन हेर्दा यिनका गीतहरु पनि सदाबहार गीतका पंक्तिमा छन् भन्न सकिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij