मंगलवार , कार्तिक १८, २०८२
भैरहवा, १८ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले यो सरकारले निर्वाचनको तयारी नगरेको दावी गर्नुभएको छ । सरकारले राजनीतिक पार्टी र पार्टीका नेताहरुप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको उहाँले बताउनुभयो ।
मंगलबार बुटवलमा एमाले जिल्ला कमिटी रुपन्देहीको विस्तारित बैठकमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सरकारले भन्दा निर्वाचन भने पनि तयारी भने नगरेको बताउनुभयो । एमाले जनतामा नगएर को जान्छ भन्दै उहाँले प्रश्न गर्नुभयो ।
‘पञ्चायतीकालमा पनि नेकपा (एमाले) निर्वाचनमा भाग लिइ जितेर राष्ट्रिय पञ्चायतमा पञ्चायतीविरुद्ध मूर्दावाद नारा लगाउने पार्टी हो । एमालेत्यो तहको निर्वाचनमा भाग लिएका पार्टी हो । निर्वाचनबाट भाग्ने र तर्सिने पार्टी एमाले होइन, त्यसकारण यो पार्टी निर्वाचनमा जान्छ कि जाँदैन भन्ने प्रश्न होइन, ’उहाँले भन्नुभयो ।
पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहनुभएका पौडेलले पार्टीका नेताहरुलाई किनारा लगाएर मुलुक निर्वाचनमा जान नसक्ने जिकिर गर्नुभयो । उहाँले निर्वाचन देखाउने दाँत जस्तो मात्र हुन पुगेको बताउनुभयो ।
‘सुशीला कार्कीजी प्रधानमन्त्री बन्नुभएको छ, फागुन २१ गते चुनाव गर्छु भन्नुभएको छ । तर, के यो सरकारले चुनावको तयारी गर्दैछ ?, उहाँले राजनीतिक पार्टी र नेताहरुमाथि प्रतिशोधपूर्ण व्यवहार गरेर चुनावको तयारी हुनै नसक्ने उहाँको भनाइ छ ।
‘हामीले स्थापना गरेको व्यवस्था, हाम्रो संविधान बहुदलीय प्रतिष्र्धात्मक प्रणालीमा आधारित संविधान हो, यो संविधान अन्तर्गत मुलुकको शासन र सञ्चालन गर्ने अभिभारा जनताबाट निर्वाचित भएका प्रतिनिधिको जिम्मामा हुन्छ । जनताका माझमा गएर निर्वाचित भएका राजनीतिक पार्टीहरुको हातमा हुन्छ, ’उहाँले भन्नुभयो ।
सबैप्रकारका षडयन्त्रहरु सधैभरी थाहा हुन्छ भन्ने नभएको उहाँले बताउनुभयो । ‘यो तहको षडयन्त्र र योजना छ भन्ने कुरा वास्तवमा थाहा पाउन सकिएन, त्यो सत्य कुरा हो, २३ र २४ गते घटना भयो, ’उहाँले भन्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij