
शनिवार , जेठ २२, २०७८
गुल्मी, २२ जेठ ।
दोस्रो भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरणका लागि गरिएको निषेधाज्ञामा कालोबजारी भएको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीको अगुवाइमा तम्घास बजार अनुगमन गरिएको छ ।
म्याद नाघेका, अखाद्य वस्तुको घरेलु तथा साना उद्योग तथा सरोकारवालाहरुको सक्रियतामा शनिबार गुल्मी सदरमुकाम तम्घासका केही पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
निषेधाज्ञाको समयमा पहिले खरिद गरी राखिएका दैनिक उपभोग्य सामानको म्याद नाघ्ने सक्ने त्यसको प्रत्यक्ष असर नागरिकमा पर्ने भएकाले प्रशासनको अगुवाइमा वजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानाकारी दिइन् ।
अनुगमनको क्रममा पसलमा मुल्य सूची प्रयोग नगर्ने, पसल दर्ता तथा स्थायी लेखा नम्बर नलिइ व्यापार गर्ने गरेको पाइएको छ । एउटा प्रयोजनका लागि दर्ता गरिएको पसलमा सबै सामान विक्री वितरण गर्दै आएको पाइएकाले सबै व्यवसायीलाई सामानको मुल्यसूची प्रयोग गर्न, कर तिरी कानूनी दायरा आउन प्रमुख जिल्ला अधिकारी शर्माले सुझाव दिएकी छन् । यदि अर्को अनुगमनसम्म अटेरी गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही अगाडी बढाउने प्रजिअ शर्माले बताइन् ।
शनिबार गरिएको बजार अनुगमनबाट अखाद्य चाउचाउ, बिस्कुट, चिजवल्स, मिट मसला, सूजी, आटा, बिस्कुट, धुलो दुध, दन्त मञ्जन लगायतका सामानहरु जफत गरिएको छ । अनुगमन गरिएका करिब ५० वटा पसलबाट १२ हजार बराबरको सामान बरामद गरिएको छ ।
चाडपर्वको मुखमा गरिने बजार अनुगमन कोरोनाको कहरमा जिल्लाका सबै स्थानमा गरिएको छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका र अखाद्य वस्तुको विक्रीमा रोक लगाउने उद्देश्यले अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij