शुक्रवार , कार्तिक १३, २०८३
काठमाडौं, १३ कार्तिक । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई विद्रोहको अभियोगमा मृत्युदण्ड दिन विशेष अभियोजन पक्षले माग गरेको छ ।
सन् २०२४ मा असंवैधानिक रूपमा सैनिक शासन (मार्सल ल) घोषणा गरी विद्रोह गराएको आरोपमा चलिरहेको पुनरावेदन सुनुवाइका क्रममा बिहीवार अभियोजन पक्षले मृत्युदण्डको माग गरेको हो । पूर्वराष्ट्रपति युनविरुद्ध विद्रोह तथा अन्य सम्बन्धित अपराधको अनुसन्धान गरिरहेका विशेष अभियोजक चो युन सुकको टोलीले युद्ध, हिंसात्मक घटना वा त्यस्तै राष्ट्रिय सङ्कटकालीन अवस्था नरहेको समयमा सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लगाएको छ । अभियोजन पक्षले पहिलो तहको अदालतमा पनि युनलाई मृत्युदण्ड दिन माग गरेको थियो ।
तर गत फेब्रुअरीमा तल्लो अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो । दक्षिण कोरियाको कानुनअनुसार विद्रोहको मुख्य योजनाकार दोषी ठहर भएमा मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनसक्ने व्यवस्था छ । युनले सन् २०२४ डिसेम्बर ३ को राति आकस्मिक सैनिक शासन घोषणा गर्नुभएको थियो ।
तर राष्ट्रिय सभाले केही घण्टामै उक्त निर्णय उल्ट्याउँदै सैनिक शासन अन्त्य गरेको थियो । त्यसपछि महाभियोग प्रक्रियामार्फत पदमुक्त गर्ने निर्णयलाई दक्षिण कोरियाको संवैधानिक अदालतले सन् २०२५ अप्रिलमा सदर गरेको थियो । उहाँलाई विद्रोहको मुख्य योजनाकार भएको आशङ्कामा सन् २०२५ जनवरीमा हिरासतमा रहेकै अवस्थामा अभियोग लगाइएको थियो । अदालतबाट अन्तिम फैसला भने आउन बाँकी छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij