२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न तत्पर छौं  : मन्त्री चौधरी

सोमवार , आश्विन १९, २०८३

  • 181
    Shares
  • 181
    Shares
  • भैरहवा, १९ असोज । संघीय सरकारको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा धेरै समस्या रहेको र यो समाधान गर्न तत्पर रहेको बताउनुभयो । उहाँले समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो ।

    आइतबार रुपन्देहीको सियारी गाउँपालिका–५ मा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि, वन तथा पर्यावरण क्षेत्रको सुधारका लागि ३५ वटा ऐनमा सुधार तथा संशोधन गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो । उहाँले नागरिकको चाहनाअनुसार काम गर्न बाधक बनेका विभिन्न कानूनी तथा नीतिगत व्यवस्थामा सुधार गर्दै सरकार अघि बढिरहेको उहाँले बताउनुभयो । सरकारले विभिन्न क्षेत्रका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम गरिरहेको उहाँले बताउनुभयो ।

    कृषि र वन क्षेत्रलाई मूल्य श्रृंखलासँग जोडेर किसान तथा उत्पादकलाई थप लाभान्वित बनाउने उद्देश्यले समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । ‘कृषि र वनलाई मूल्य श्रृंखलासँग जोड्न हामीले समिति बनाएका छौं । समितिले छिट्टै प्रतिवेदन बुझाउनेछ,’ उहाँले भन्नुभयो ।

    मन्त्री चौधरीले रासायनिक मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तीन चरणमा काम गरिरहेको बताउनुभयो । पहिलो चरणमा आवश्यक रासायनिक मल खरीद गरी व्यवस्थित रूपमा वितरण गर्ने, दोस्रो चरणमा माटोको गुणस्तर सुधारका लागि प्रांगारिक मलको उत्पादन तथा प्रयोगलाई प्रवद्र्धन गर्ने र तेस्रो चरणमा नेपालमै मल उत्पादन गर्ने व्यवस्था मिलाउनेतर्फ काम भइरहेको उहाँले बताउनुभयो ।

    त्यसै गरी शीतभण्डारको व्यवस्थापन, मत्स्य उत्पादन तथा बजारीकरणलगायत कृषि क्षेत्रका अन्य समस्याको समाधानका लागि पनि सरकारले काम गरिरहेको मन्त्री चौधरीले बताउनुभयो ।

    वर्षौंदेखि रहँदै आएका समस्या तत्कालै समाधान हुन नसक्ने भन्दै उहाँले धैर्य गर्न आग्रह गर्नुभयो । ‘वर्षौंदेखिका समस्या समाधान गर्न केही समय लाग्छ, तपाईंहरू धैर्य गर्नुहोस् । कानूनी तथा नीतिगत समस्या समाधान हुँदैछन्, त्यसपछि कामको गति अझ बढ्नेछ,’ मन्त्री चौधरीले भन्नुभयो ।