बुटवल। नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि भन्दै आइतबार टेण्डर आह्वान गरेको छ।
मृत्युमार्गको रुपमा परिचय बनाएको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा सडकमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आब्हान गरिएको हो। ४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको हो। एउटा डबल लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्गको सडक निर्माण गर्ने गरी मन्त्रालयले ग्लोबल टेण्डर आह्वान गरेको हो।
माथिल्लो सिद्धबाबा मन्दिरदेखि शुरु हुने सुरुङमार्गको डिजाईन स्वीस सरकारले गरेको र ११ सय २६ मिटरको हुने विभागले जनाएको छ। साथै माथीबाट ढुंगा झर्ने ३ किलोमिटर क्षेत्रमा रकनेट र जाली लगाउने काम समेत स्वीकृत बजेटभित्रैबाट गरिने छ।
सुरुङमार्गको लागि रुपन्देही २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि पहल गर्दै आएका थिए। उनले अर्थमन्त्री भएपश्चा रुपन्देही आउँदा सुरुङमार्गको काम आफ्नै कार्यकालमा अघि बढाउने विश्वास दिलाएका थिए।
अर्थमन्त्री पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सुरु गरेर समयमै काम सुरु हुने बिश्वास व्यक्त गरेका छन्। सामाजिक संजालमार्फत उनले आयोजना निर्धारित मितिमै सम्पन्न हुने समेत जानकारी दिए। सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने नेता पौडेलको भनाइ छ।
यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म यातायातका साधन चल्ने गर्दछन्।हिउँद तथा वर्षायाम जुनुसकै बेला झर्ने चट्टान, ढुङगा सहितको पहिरो खस्दा यात्रुले अकालमै ज्यान गुमाउदै आएका छन्।
सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको बताउँदै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरुलाई बोलपत्र आह्वान गरिएको जानकारी दिए।
सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिसकेको छ भने अर्थमन्त्रालयले अघिल्लो बर्ष नै १० अर्ब १५ करोड रुपैयाँ बजेट सुनिश्चितता पनि गरिसकेको छ।
सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको थियो । निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ । सोही अनुसार नै टेण्डर आह्वान गरिएको सडक विभागका प्रवक्ता नेपालले जानकारी दिए ।
भारत सरकारको सहयोगमा झण्डै आधा शताब्दी अघि निर्माण कार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो।