२०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

जनउत्थान सहकारीको २१ औं निर्णय प्रमाणित साधारण सभा सम्पन्न

आइतवार , आश्विन १८, २०८३

  • 769
    Shares
  • 769
    Shares
  • रुपन्देही, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा शनिबार मणिग्राममा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

    सेवा केन्द्र स्तरीय एकाइगत साधारणसभा सम्पन्न गरेको सहकारीले शनिबार प्रतिनिधिमूलक निर्णय प्रमाणित साधारण सभा सम्पन्न गरेको हो । समुदायमा आधारित जनउत्थान साकोसले पुनः एक्सेस ब्राण्ड प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्वान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।

    सहकारीका अध्यक्ष गिरी प्रसाद पुनले सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन र जनताको मन र विश्वास जित्न जनउत्थान साकोसले निरन्तर उत्कृष्ट कार्य गरिरहेको बताउनुभयो । जनउत्थान साकोसले एशियाली ऋण महासंघको फोरम २०२६ बाट पुनः एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । सदस्यलाई गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका वारेमा बुझाउने समाजमा रहेका आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्यअनुरुप कार्यसम्पन्न गरेको साकोसका अध्यक्ष पुनले जानकारी दिनुभयो । त्यसै गरी सहकारीले आफ्नो योजनाअनुरुप यसबर्ष पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड दिदै सम्मान तथा अक्षयकोषलाई अगाडी बढाएको छ ।

    सहकारीकी उपाध्यक्ष सरु रानाले सभामा आउनुभएका सबै सदस्यहरुलाई स्वागत गर्दै समाजमा रहेर जनउत्थानले समजपयोगी कार्य गर्दै जनता र यसका सदस्यहरुको मन जितेको बताउनुभयो । संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक वर्षमा पनि धेरै सदस्य लाभान्वित भएको उहाँले बताउनुभयो । संस्थाकोतर्फबाट कोषाध्यक्ष निल प्रसाद पुनले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत गर्दै गत वर्षको मुनाफाबाट सदस्यलाई १० प्रतिशत लाभांश वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

    सहकारीले गत आर्थिक वर्ष २०८२/०८३ को मा ४४ हजार ३ सय ६९ जना सदस्यबाट करिब ३१ करोड २२ लाख ९९ हजार शेयर पूँजी संकलन गरेको छ । त्यसै गरी यस अवधिमा बचत संकलन ३ अर्ब ९८ करोड २२ लाख ४८ हजार १ सय ४८, ऋण लगानी ३ अर्ब ३६ करोड ७८ लाख ३९ हजार ६ सय ३७ र शुद्ध बचत १० करोड ५३ लाख ४४ हजार ४ सय ६ रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ४ अर्ब ८१ करोड ६० लाख ७९ हजार ८ सय ८३ कुल सम्पत्ति पुर्याएको छ । संस्थाको जगेडा कोषमा ४० करोड ७२ लाख ९६ हजार ४ सय १२ रकम जम्मा भएको  छ । रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले १० वटा सेवा केन्द्र मार्फत सदस्यलाई वित्तीय लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ ।

    कार्यक्रममा सस्थाको आगामी कार्यदिशाको बारेमा बोल्दै करिब २२ वटा प्रस्तावहरु पारित गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक रन बहादुर थापाले सदस्यहरु प्रस्तुत गर्नुभएको २२ वटा प्रस्ताव छलफलपछि पारित भएको थियो ।
    सो अवसरमा बोल्दै प्रमुख अतिथि सांसद पौडेलले जनउत्थान सहकारीले रुपन्देहीको मात्रै नभएर देशकै नाम उचो गराएको बताउनुभयो । उहाँले सहकारीको पंक्तिमा एउटा उदाहरण दिन सक्ने सहकारी बनाएकोमा यसका सञ्चालक कर्मचारी र सदस्यहरुलाई बधाई तथा धन्यबाद ज्ञापन गर्नुभयो ।

    कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गिरी प्रसाद पुनले सहकारीप्रतिको माया, सद्भाव र त्याग अनि समर्पणले जनउत्थानको यो अवस्था आएकोमा सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रमको सञ्चालन सचिव अन्जु जैसी सुवेदीले गर्नुभएको थियो । 

    जनउत्थान सहकारी पत्रकारिता पुरस्कार मिलन गाहालाई

    जनउत्थान पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार यम बहादुर गाहा (मिलन) सम्मानित हुनुभएको छ । सहकारी प्रबद्र्धन तथा संरक्षण क्षेत्रमा योगदान पुर्याएको भन्दै उहाँलाई नगद १५ हजारसहित सम्मानपत्रबाट सम्मान गरिएको हो । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा, १५ कोटिहवा, रुपन्देहीले २१ औं निर्णय प्रमाणित साधारण सभाको अवसर पारेर उहाँलाई सम्मान गरेको हो ।

    विगत साढे २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार गाहा मेचीकाली  दैनिक, नेपाल टेलिभिजन लगायत सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ ।