आइतवार , आश्विन १८, २०८३
काठमाडौँ, १८ असोज । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५ औँ महाधिवेशनमा पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
काँग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बन्नुभएका रसाईले पुनः सोही पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेद्वारी दिने बताउनु भयो । काँग्रेस सभापति गगन थापाको नेतृत्वमा आफूले सहमहामन्त्री पदमा उम्मेद्वारी दिन लागेको उहाँको भनाई छ । सभापति थापाको नेतृत्वमा काँग्रेसलाई बलियो जनमतसहितको पार्टीका रूपमा पुनः स्थापित गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।
पार्टीको १५ औँ महाधिवेशन काँग्रेसको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिमा देखिएका चुनौती सामना गर्ने महत्वपूर्ण अवसर बन्ने उहाँले बताउनु भयो । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन र मुलुकलाई नयाँ दिशामा अघि बढाउन कोशेढुंगा सावित हुने उहाँको भनाइ छ । मुलुकमा देखिएको चुनौती र नागरिकमा बढेको निराशालाई अन्त्य गर्दै बलियो काँग्रेसमार्फत देशको समृद्धिको यात्रा अघि बढाउन महाधिवेशनले महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो । उहाँले वीपी कोईरालाको नेतृत्वका
लमा काँग्रेसले सबै जातजाति, वर्ग, लिङ्ग, धर्म र समुदायको प्रतिनिधित्व हुने गरी समावेशी राजनीतिक चरित्र निर्माण गरेको उल्लेख गर्नुभयो । वर्तमान नेतृत्वले पनि नेपालको विविधता प्रतिबिम्बित हुनेगरी पार्टीको विधान र संरचना निर्माण गरेको उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीको १५ औँ महाधिवेशन ऐतिहासिक महाधिवेशन मात्र होइन, यो महाधिवेशनले नेपाली काँग्रेस पार्टीको को आन्तरिक जीवन मात्र होइन, राष्ट्रिय राजनीतिमा एउटा मुलुकमाथि परेका चुनौती र नेपाली काँग्रेस पार्टीमा आइ परेका चुनौतीहरूको सामना गर्न र मुलुक र नेपाली काँग्रेस पार्टीलाई नयाँ जीवन दिनका निम्ति यसले कोशेढुङ्गा सावित हुने मैले विश्वास लिएको छु । नेपाली काँग्रेस पार्टीको १५ औँ महाधिवेशन समुन्नत समुन्नत नेपाल र सम्मानित नेपालीको श्रद्धेय सभापतिले बोक्नुभएको जो नारा छ र नेपाली काँग्रेस पार्टीलाई नयाँ जीवन दिने र नेपाली काँग्रेस पार्टीलाई परम्पराको सम्मान र नयाँ पुस्ताको आगमन भन्ने जो हाम्रो मूल मर्म छ, त्यो मर्मलाई हामी आत्मसात गर्दै नेपाली काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न गर्न गइरहेका छौँ ।
यस सन्दर्भमा देश विदेशमा रहनुभएका साथीहरूलाई पनि निकै चिन्ता र चासोको विषय हुन सक्छ, कुन पार्टीका कुन पार्टीका नेताहरू कुन पदमा प्रतिस्पर्धा गर्दै छन् भन्ने कुरामा । यो महाधिवेशनमा मैले आफूलाई फेरि पनि दलित समावेशीतर्फ सहमहामन्त्रीको उम्मेदवार हुने जमर्को गरेको छु । हामीले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका श्रद्धेय सभापति गगनकुमार थापाको नेतृत्वमा हामीले नेपाली काँग्रेस पार्टीलाई जुलुक्क उठाउने गरी काम गरेका थियौ, फेरि पनि नेपाली कांग्रेस पार्टीलाई २०१५ सालको जस्तै बलियो र बलियो जनमत भएको पार्टी बनाउनका निम्ति हामी फेरि १५ औँ महाधिवेशनमा पनि उहाँकै नेतृत्वमा नेपाली कांग्रेस पार्टीलाई अगाडि लिएर मुलुकमाथि भएका चुनौतीहरूको सामना गर्न, आम नागरिकमा छाएको निराशालाईको सामना गर्न, बलियो काँग्रेस र बलियो देश र नेपाली जनताको समृद्धिको यात्रालाई पूरा गर्नका लागि लाग्नेछौँ, यो महाधिवेशनबाट फेरि पनि गगन थापाकै नेतृत्वमा मैले सहमहामन्त्रीको रूपमा आफ्नो उम्मेदवारी तय गरेको छु । जसरी वी.पी. कोईरालाले २०१५ सालमा नेपाली काँग्रेसको केन्द्रिय समितिमा मात्र होइन, वी.पी. कोईरालाले नेपाली काँग्रेस पार्टीको पार्टीको नेतृत्वमा बनेको सरकारमा पनि नेपालका सबै जातजाति, वर्ण, लिङ्ग, धर्म, समुदायको अनुहार देखिने र नेपालको नक्शा देखिने हिमाल, पहाड, तराई सबै जातजातिको पार्टीको अनुहार देखिने, नेपालको नक्शा देखिने समावेशी विधान बनाउनुभएको थियो, नेपाली काँग्रेसका श्रद्धेय सभापति गगनकुमार थापाले अहिलेको हाम्रो विधान पनि सबै जातजाति, वर्ण, लिङ्ग, समुदायको समावेशी नेपालको चरित्र देखिने गरी जो हामीले विधानको निर्माण गरेका छौँ ।’
उहाँले सभापति थापाको नेतृत्वमा पार्टीलाई अघि बढाउन उपसभापति विश्वप्रकाश शर्मासहित नेतृत्वपंक्तिसँग सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रसाईली पार्टीको १४ औँ महाधिवेशनमा दलित समावेशी तर्फबाट पार्टीको केन्द्रिय सदस्य निर्वाचित हुनुभएको थियो । १५ औँ महाविधेशनमा उहाँ बझाङबाट महाविधेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij