शनिवार , आश्विन १७, २०८३
भैरहवा, १७ असोज । तत्कालिन जनता समाजवादी पार्टी (जसपा), नेपाल र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल लुम्बिनी प्रदेश कार्यसमितिबीचको समायोजन कार्यक्रमप्रति असहमति जनाइएको छ ।
जसपा नेपाल (तत्कालिन लोसपा) लुम्बिनी प्रदेशले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमार्फत आगामी असोज १८ गते आइतबार आयोजना गर्न लागिएको भनिएको समायोजन कार्यक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तीमा लोसपा नेपाल लुम्बिनी प्रदेशको कुनै पनि आधिकारिक निर्णय नभएको तथा समायोजन कार्यक्रमका विषयमा दुवै दलबीच कुनै बैठकसमेत नबसेको दावी गरिएको छ ।
तत्कालिन लोसपा लुम्बिनी प्रदेशका अध्यक्ष सन्तोष कुमार पाण्डेयले एकतर्फी रूपमा गर्न लागिएको समायोजन केन्द्रले जारी गरेको मापदण्डविपरीत र गैरकानूनी रहेको आरोप लगाउनुभएको छ । पाण्डेयद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘हाम्रो घोर असहमति छ । अतः तत्कालीन लोसपा नेपाल लुम्बिनी प्रदेशका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई उक्त समायोजन कार्यक्रममा सहभागी नहुन अनुरोध गरिन्छ ।’
जसपा नेपाल लुम्बिनी प्रदेश कार्यसमिति नीतिगत रूपमा सम्मानजनक समायोजनको पक्षमा रहेको पाण्डेयले बताउनुभयो । विज्ञप्तीमा विधि र विधानविपरीत हुने कुनै पनि समायोजन स्वीकार्य नहुने उल्लेख गरिएको छ ।
जसपा नेपाल लुम्बिनी प्रदेश समिति समायोजन कार्यक्रम आइतबार कपिलवस्तुको तौलिहवामा हुने पार्टीको प्रदेश अध्यक्ष राम अवतार यादवले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij