२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

‘चमेलीको पोइ’ दर्शकमाझ पुग्ने तयारीमा

मंगलवार , आश्विन १३, २०८३

  • 190
    Shares
  • 190
    Shares
  • बुटवल, १४ असोज ।  निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरिएको छ ।

    चलचित्रको ट्रेलरमा मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न आयामलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तुलाई लिएर दर्शकको चासोसमेत बढेको छ ।

    चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूसँगै चर्चित हास्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन (खबपु), अंशु महर्जन, रजनी गुरुङ, गणेश गौतम, प्रेमदेव गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

    विशेष गरी नारायण त्रिपाठीको पुनरागमन चलचित्रको अर्को आकर्षणका रूपमा हेरिएको छ । उहाँ लामो समयपछि यही चलचित्रमार्फत ठूलो पर्दामा फर्किनुभएको हो । त्रिपाठीले पनि चलचित्रमार्फत पुनः दर्शकमाझ आउन पाएकोमा आशावादी रहेको बताउनुभयो ।

    चलचित्रका निर्माता रामनारायण उपाध्यायले सामाजिक विषयवस्तुलाई आधार बनाएर चलचित्र निर्माण गरेको बताउनुभयो । ‘चमेलीको पोइ’ आफ्नो पहिलो प्रयास भए पनि समय, परिस्थिति र बजारको अवस्थालाई बुझ्दै निरन्तर चलचित्र निर्माण गर्ने उहाँको भनाइ छ ।  कला, संस्कृति र पहिचानको प्रवद्र्धन तथा संरक्षणका लागि आफू र आफ्नो परिवार चलचित्र क्षेत्रमा सक्रिय भएको उहाँले बताउनुभयो । 

    धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहनुभएको छ ।  कार्यकारी निर्मातामा उदयविक्रम राणा र ऋतु मल्ल ठकुरी रहनुभएको छ । निर्देशक बोहराको कथामा शिवम अधिकारीले पटकथा तथा संवाद लेखनमा सहकार्य गर्नुभएको छ ।

    चलचित्रमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यसअघि सार्वजनिक गरिएको ‘माया मान्छौ र’ गीतमा सुरक्षा पन्त र मुकुन भुसाललाई मुस्ताङका रमणीय दृश्यमा प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ ।

    निर्माणको सुरुवाती चरणदेखि नै कलाकारको विविधता, हास्यप्रधान कथावस्तु र सामाजिक तथा पारिवारिक विषयका कारण चर्चामा रहेको ‘चमेलीको पोइ’ अब दशैंको अवसरमा दर्शकमाझ पुग्ने तयारीमा छ । चलचित्र असोज १६ गते अर्थात् अक्टोबर २ देखि देशभर प्रदर्शनमा आउने चलचित्रका  निर्माता सुनीता सापकोटाले जानकारी दिनुभयो ।