मंगलवार , आश्विन १३, २०८३
काठमाडौँ, १३ असोज । चीनको मध्य क्षेत्रमा पर्ने हुबेई प्रान्तमा सोमबारदेखि याओचाङ–सिङ्शान हाई–स्पीड रेल सेवा सञ्चालनमा आएको छ । पहाडी भू–भागमा निर्मित यो १०१ किलोमिटर लामो रेलमार्गले स्थानीय पर्यटन, उद्योग र ग्रामीण क्षेत्रको आर्थिक विकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।
चाइना रेलवे वुहान ब्यूरो ग्रुपकाअनुसार दबाबा पहाडी क्षेत्रलाई चिर्दै निर्माण गरिएको यो रेलमार्गको डिजाइन गति प्रतिघण्टा ३५० किलोमिटर रहेको छ । यो परियोजनाले चीनका दुई महत्वपूर्ण रेल सञ्जालहरू–सांघाई–चोङकिङ–चेङ्दु लाइन र झेङ्झोउ–चोङकिङ लाइनलाई एकआपसमा जोडेको छ ।
चीनको राष्ट्रिय दिवसको बिदा शुरु हुनु ठीक अगाडि यो रेल सेवा सञ्चालनमा आउनुलाई निकै अर्थपूर्ण मानिएको छ । यसले वुहान, झेङ्झोउ र चोङकिङ जस्ता ठूला सहरहरूलाई याङ्त्जे नदी किनारका प्रख्यात पर्यटकीय गन्तव्यहरूसँग जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।
चीनले विश्वकै सबैभन्दा ठूलो हाई–स्पीड रेल नेटवर्क निर्माण गर्ने क्रममा आफ्नो सञ्जाललाई निरन्तर विस्तार गरिरहेको छ । आधिकारिक तथ्यांकअनुसार सन् २०२५ को अन्त्यसम्ममा चीनको कुल सञ्चालन रेलमार्गको लम्बाई १ लाख ६५ हजार किलोमिटर पुगेको छ, जसमा ५० हजार किलोमिटरभन्दा बढी हाई–स्पीड रेलमार्ग रहेका छन् ।
सरकारको दीर्घकालीन राष्ट्रिय योजनाअनुसार सन् २०३५ सम्ममा चीनको हाई–स्पीड रेल नेटवर्क ७० हजार किलोमिटर पु¥याउने लक्ष्य राखिएको छ । भौगोलिक विकटताका बाबजुद तीव्रगतिको रेल सञ्जाल विस्तार गर्ने चीनको यो प्रयासले ग्रामीण र दुर्गम क्षेत्रमा समेत आर्थिक पहुँच विस्तार गर्न थप टेवा पुग्ने देखिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij