बुधवार , आश्विन ७, २०८३
भैरहवा, ७ असोज । पश्चिम नवलपरासीमा केराखेतीमा ब्ल्याक सिगाटोका रोग देखिएको छ । सुस्ता र प्रतापपुर क्षेत्रमा व्यवसायिक रूपमा लगाइएको केराखेतीमा अहिले यो रोगको समस्या देखिएको हो ।
करिब दुई महिना अघिसम्म यहाँका किसानले उत्पादन गरेको केराले राम्रो मूल्य पाएका थिए । एक दर्जन केराको मूल्य ८० रुपैयाँसम्म पाएको किसानहरू बताउँछन् । राम्रो मूल्य पाएपछि किसान केराखेती विस्तार गर्न उत्साहित भएका थिए । तर, अहिले भने अवस्था फेरिएको छ । धेरैजसो केराका बगैंचामा ब्ल्याक सिगाटोका रोग देखिएको छ । कतिपय बगैंचामा रोग धेरै फैलिएको छ भने कतिपयमा आंशिक रूपमा मात्रै देखिएको केरा किसान तथा केरा जोन सञ्चालक समिति पश्चिम नवलपरासीका संयोजक युवराज मौर्याले बताउनुभयो ।
यो रोग लागेपछि सुरुमा केराको पातमा साना खैरा वा कालो धर्सा र धब्बा देखिन्छन् । रोग बढ्दै जाँदा ती धब्बा फैलिँदै जान्छन् । त्यसपछि पात पहेँलिँदै सुक्न थाल्छ । बोटमा हरिया पातको संख्या घट्दै जाँदा केराको वृद्धि र फलको विकासमा समेत असर पुग्ने कृषि प्राविधिकहरू बताउँछन् । बोटका पात माथिबाट सुक्दै जाने र विस्तारै तलतिर पनि सुक्दै जाँदा बोट कमजोर हुने समस्या देखिएको छ । यसले किसानलाई थप चिन्तित बनाएको प्रतापपुर गाउँपालिकाका केरा किसान नारायण कोइरीले बताउनुभयो ।
रोगका कारण समयअगावै पाकेका केरा व्यापारीले नकिन्ने समस्या पनि देखिएको छ । त्यसपछि किसानले आफै नजिकका बजारमा लगेर कम मूल्यमा विक्री गर्नुपरेको किसान बताउँछन् । अहिले रोग लागेको केरा कतिपय किसानले प्रतिदर्जन २० देखि २५ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । सिगाटोका लागेको केरा खान मिल्ने कृषि प्राविधिकहरुको भनाइ छ । रोग नलागेको केराको मूल्य पनि पहिलेको तुलनामा घटेको छ । किसानका अनुसार अहिले राम्रो केराको मूल्य करिब ४० रुपैयाँ प्रतिदर्जनसम्म छ । रोग देखिएपछि केही किसानले भारतबाट विषादी ल्याएर प्रयोगसमेत गरेका थिए । तर, त्यसबाट अपेक्षित रूपमा रोग नियन्त्रण नभएपछि किसानले प्राविधिकलाई जानकारी गराएका हुन् । किसानले जानकारी गराउँदा केरामा रोग देखिएको डेढ महिना भइसकेको बताइएको छ । त्यस अवधिमा रोग धेरै क्षेत्रमा फैलिसकेको थियो ।
समस्या बढ्दै गएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीले बाली उपचार शिविर सञ्चालन गरेको छ । शिविरमार्फत किसानलाई केरामा देखिएको रोगको पहिचानबारे जानकारी दिइएको छ । त्यस्तै रोग फैलिने कारण र बगैँचा व्यवस्थापनका विषयमा पनि किसानलाई जानकारी गराइएको छ । रोग नियन्त्रणका उपायबारे जानकारी दिनुका साथै आवश्यक विषादी वितरण गरिएको छ । विषादी कसरी र कुन विधिबाट प्रयोग गर्ने भन्नेबारे पनि किसानलाई सिकाइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख शालीकराम पौडेलले बताउनुभयो ।
रोगको वास्तविक अवस्था पहिचान गर्न बाली रोग विशेषज्ञसहितको प्राविधिक टोलीले केराका बोट र पातको नमुना संकलन गरेको छ । नमूना परीक्षण र रोगको अवस्था हेरेर आवश्यक उपचार तथा व्यवस्थापन विधिबारे किसानलाई जानकारी गराइएको छ । कृषि प्राविधिकका अनुसार ब्ल्याक सिगाटोका नियन्त्रणका लागि रोग लागेका पात र बोटको उचित सरसफाई महत्वपूर्ण हुन्छ । त्यस्तै, बगैचामा हावाको आवतजावत र चिस्यान व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ । विषादी प्रयोग गर्दा प्राविधिकको सिफारिसअनुसार मात्रै उपचार गर्न आवश्यक हुन्छ । रोग लागेका पात हटाउँदा रोग फैलाउने स्रोत कम गर्न सहयोग पुग्छ । यसले समयअगावै फल पाक्ने समस्या पनि कम गर्न सहयोग गर्ने बाली रोग विशेषज्ञ तथा वरिष्ठ कृषि वैज्ञानिक लक्ष्मण अर्यालले बताउनुभयो ।
तर, किसानले आफै अनुमान गरेर विषादी प्रयोग गर्ने गरेका छन् । यसले समस्या समाधान हुनुको साटो केराखेतीमा रोग हरेक वर्ष बढ्दै गएको कृषि प्राविधिकहरू बताउँछन् । एकातर्फ राम्रो मूल्य पाएपछि किसानले केराखेती विस्तार गरिरहेका छन् । अर्कोतर्फ रोगका कारण अहिले उत्पादन र बजार दुवैतर्फ समस्या देखिएको छ । केराखेतीको क्षेत्र विस्तार भइरहेका बेला रोग नियन्त्रणका लागि समयमै प्राविधिक सेवा र प्रभावकारी व्यवस्थापन आवश्यक देखिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुस्ता र प्रतापपुर क्षेत्रमा सञ्चालनमा रहेको केरा जोन पछिल्लो पाँच वर्षमा ९४० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । यति ठूलो क्षेत्रमा फैलिएको केराखेतीमा देखिएको रोग नियन्त्रणका लागि किसान, प्राविधिक, स्थानीय तह र सम्बन्धित निकायबीचको समन्वय अझ महत्वपूर्ण देखिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij