बुधवार , आश्विन ७, २०८३
काठमाडौँ, ७ असोज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम अगाडी बढाएको बताउनुभएको छ ।
बुधवार मन्त्रालयमा सीप तथा रोजगार मेलाको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच रहेको ‘मिसम्याच’ अन्त्य गर्नेगरी काम अगाडी बढाएको बताउनुभएको हो । रोजगारदाता र श्रमिकलाई एउटै प्लेटफर्ममा जोड्ने गरी सरकारले ‘जब म्याचिङ’ प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरेको उहाँले बताउनु भयो । चालु वर्ष एक लाख व्यक्तिलाई ‘जब म्याचिङ’मार्फत रोजगारीमा जोड्ने लक्ष्य रहेको उहाँको भनाई छ । मन्त्री यादवले विगतमा मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगारीमा बढी केन्द्रित रहेको भएपनि अहिले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो ।
युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले नीतिगत तथा कार्यक्रमगत सुधार अघि बढाइएको उहाँको भनाइ छ । उहाँले २०७१ सालमा राष्ट्रिय रोजगार नीति बने पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माण हुन नसकेको उहाँले बताउनु भयो । सोही कारण आन्तरिक रोजगारीको क्षेत्रमा अपेक्षित काम हुन नसकेको उहाँको भनाई छ । उहाँले आन्तरिक रोजगारीमा खासै हुन नसकेको बताउनुभयो ।
आन्तरिक रोजगारी सिर्जनाको लागि मन्त्रालयले आवश्यक नीतिगत सुधारका योजना अघि बढाएको उहाँको भनाई छ । राष्ट्रिय रोजगार नीति २०८३ को मस्यौदामा सबै सम्बन्धित मन्त्रालयबाट सैद्धान्तिक सहमति लिइसकेको र अब मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय रोजगार ऐनसम्बन्धी प्रस्ताव पनि सहमतिका लागि मन्त्रिपरिषद्मा पठाउने उहाँले बताउनु भयो । मन्त्रालयले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ रोजगारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीचको मिसम्याच छ । रोजगारदाताले कामदार भेट्दैन र कामदारले रोजगारदाता भेट्दैन । यी दुइटा कुराको मिसम्याच जुन छ, यो मिसम्याचलाई हामीले एउटा प्लेटफर्म बनाउनुपर्छ, जहाँ दुवैजना भेटियोस् र एक अर्काको जुन पदपूर्ति हुन्छ, आवश्यकताअनुसारको पदपूर्ति गरोस् भन्ने अठोट गरेर मन्त्रालयले काम गरिरहेको छ । हाम्रो मन्त्रालयमा सम्पूर्ण कामकाजहरू वैदेशिक रोजगारतिर फोकस्ड थियो र अहिले पनि छँदैछ, त्यो पनि त्यत्तिकै महत्वपूर्ण हो ।
साथै आन्तरिक रोजगारी जुन उपेक्षित भएर बसेको थियो, त्यसलाई हामीले रिभाइभ गर्न खोजेको हो । आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्नको लागि युवाहरूलाई आफ्नै देशमा अवसरको खोजी होस् भन्ने भिजनका साथ हामीले आन्तरिक रोजगारीको लागि हामीले काम गर्न सुरु गर्यौँ । तर विडम्बना मैले के पाएँ भने २०७१ सालमा राष्ट्रिय रोजगार नीति बन्यो । तर त्यो नीतिलाई कार्यान्वयन गर्नको लागि ऐन, नियमावली, कार्यविधि र निर्देशिका कुनै पनि छैन । त्यही भएर यति मात्रै भन्न सक्छु कि आन्तरिक रोजगारीमा खासै काम नभएको हो । तर हामीले गर्नुपर्छ, युवाहरूको आस र जनताको माग के हो भने आन्तरिक रोजगारी हुनुपर्छ । आफ्नै देशमा, आफ्नै माटोमा रोजगारी र स्वरोजगारी दुबै हुने वातावरण बनाइदिनुपर्छ ।
यो सरकारको काम हो, त्यही अनुरूप हामीले स्वदेशमै रोजगारीको अवसर भेटियोस् भनेर केही कार्यक्रमहरू, नीतिगत सुधारहरू गर्दैछौँ । हामीले सम्पूर्ण लाइन मिनिस्ट्रीहरूबाट राष्ट्रिय रोजगार नीति २०८३ को सैद्धान्तिक सहमति लिएर अब क्याबिनेट पठाउने तयारी गरिरहेका छौँ । त्यस्तै राष्ट्रिय रोजगार नीति बनाउने तिर पनि हामी काम गर्दैछौँ, राष्ट्रिय रोजगार ऐनको पनि सहमतिको लागि क्याबिनेट पठाउने तयारी गरिरहेका छौँ । साथसाथै हामीले १२ वटा फ्ल्यागसिप प्रोग्रामहरू, कार्यक्रमहरू, रोजगारीका कार्यक्रमहरू यसै वर्ष लञ्च गर्ने गरी पनि तयारी गरेका छौँ ।
यसै क्रममा हामीले रोजगारीको सिर्जनाका लागि जब म्याचिङको लागि प्रधानमन्त्रीसामु यहीवर्ष १ लाख व्यक्तिलाई जब म्याचिङका मार्फत रोजगारमा जोड्नेछौँ भनेर कार्यसम्पादन सम्झौता गरेका छौँ । त्यसैलाई कार्यान्वयन गर्नको लागि हामीले पहिलोपटक सीप तथा रोजगार मेला गर्न लागेको हो । मन्त्रालयकै इतिहासमा सम्भवतः सीप तथा रोजगार मेला यो पहिलोपटक हो ।’
उहाँले आन्तरिक रोजगारी सिर्जना र रोजगारदाता तथा श्रमिकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न पहिलोपटक रोजगार, सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको पनि मन्त्री यादवले जानकारी दिनुभयो । तीन वटै तह र निजी क्षेत्रको सहयोगमा हरेक वर्ष सीप तथा रोजगार मेला आयोजना गर्ने उहाँले भनाई छ । मेलालाई सात वटै प्रदेशमा विस्तार गर्ने पनि उहाँले बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij