सोमवार , आश्विन ५, २०८३
भैरहवा, ५ असोज । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई सुदृढ गर्दै उत्कृष्ट, अनुशासित र उच्च मनोबलयुक्त प्रहरी संगठन निर्माणमा जोड दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ लाई सम्बोधन गर्दै उहाँले प्रहरी संगठनको कार्यसम्पादनमा एकरूपता कायम गर्दै नागरिकलाई प्रभावकारी र भरोसायोग्य सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई उत्साह र उच्च मनोबलका साथ जिम्मेवारी पूरा गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । योग्यता, क्षमता र कार्यसम्पादनका आधारमा प्रहरी जनशक्तिको उचित व्यवस्थापन गर्दै राम्रो कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले बदलिँदो सुरक्षा चुनौतीअनुसार अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिमआधारित प्रहरी परिचालन गर्न तथा प्रमाणमुखी र प्रविधिको रणनीतिक उपयोगमा आधारित अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । विगतका घटना र अनुभवको पुनरावलोकन गरी सूचना संकलन तथा विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना बनाएर सक्रियताका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रहरी महानिरीक्षक कार्कीले सुशासन, अनुशासन, आन्तरिक उत्तरदायित्व र व्यावसायिक कार्यसम्पादनलाई संगठन सुदृढीकरणको आधारका रूपमा लिनुपर्ने बताउनुभयो । केन्द्रदेखि प्रदेश र मातहतका सबै प्रहरी कार्यालयको कार्यसम्पादनमा आवश्यक समन्वय र एकरूपता कायम गर्दै कमीकमजोरी सुधार गर्नुपर्ने उहाँले निर्देशन दिनुभयो ।
बैठकमा समीक्षा गरिएका विषयलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धीलाई संस्थागत गर्दै आगामी कार्ययोजनामा कार्यान्वयन गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
बैठकमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, सुरक्षा चुनौतीको सामना र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij