२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस् : सांसद थपलिया

बिहिवार , आश्विन १, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • काठमाडौँ, १ असोज । नेपाली काँग्रेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएको सुकुम्बासी नागरिकको पुनस्र्थापनामा भएको उपलब्धी सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।

    प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सरकार नागरिकका आधारभुत समस्या समाधान गर्न असफल भएको आरोप पनि लगाउनु भयो । मन्त्रीहरुले खुट्टा भाँच्ने र पाता फर्काउने कुरा गर्ने तर नागरिक रित्तो ग्सासको सिलिण्डर बोकेर दिनभर लाइनमा बस्नुपरेको अवस्था रहेको भन्दै उहाँले सरकारको कार्यशैलीप्रति आपत्ति पनि जनाउनु भयो ।

    उहाँले सुकुम्बासी नागिरको घर भत्काइएपछि विभिन्न कारणले १० जनाको मृत्यु भएको दाबी गरिएको उल्लेख गर्दै सरकारले यसबारे आधिकारिक तथ्यांक सार्वजनिक गर्नुपर्ने बताउनु भयो । उहाँले सुकुम्बासी बस्तीमा डोजर चलाएर टहरा हटाउनु मात्र समस्याको समाधान नभएको भन्दै वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार उपलब्ध गराउन माग गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘कोही मन्त्रीज्यू खुट्टा भाँच्ने कुरा गर्नुहुन्छ, कोही मन्त्रीज्यू पाता फर्काउने कुरा गर्नुहुन्छ । तर नागरिक अहिले पनि रित्तो ग्यास बोकेर लाएइनमा उभिएका छन् । बाढी प्रभावित जिल्लाहरुको अवस्था अझै दयनीय रहेको छ । सरकारले नागरिकलाई न ग्यास दिन सक्यो न सरकारले बजारको महंगी नै नियन्त्रण गर्नसक्यो ।

    सभामुख महोदय, २०८३ साल बैशाख १३ गते राजधानीका नदि किनारमा बस्दै आएका सुकुम्बासी बस्तीमा डोजर चलाइयो । घर भत्काएपछि कतिपय परिवारलाई होल्डिङ सेन्टरमा राखियो । विस्थापितपछि विभिन्न कारणले मत्यु भएका घटनाहरु सार्वजनिक भए । सुकुम्बासी मोर्चाले विभिन्न कारणले १० जना सुकुम्बासी नागरिकको मृत्यु भएको दाबी गर्यो । तर सरकारले आजसम्म पनि यससम्बन्धी आधिकारिक तथ्यांक दिन सकेको छैन ।

    हामी जान्न चाहान्छौँ, कति परिवारको पहिचान भयो ? कति परिवारलाई स्थायी आवास दिइयो ? र बाँकीलाई कहिले दिइन्छ ? डोजर लगाएर टहरा हटाउनु समाधान होइन, वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार दिनु समाधान हो । पुराना राजनीतिक दलका कमि कमजोरीमाथि प्रश्न उठाउन पाउनुपर्छ, पाइन्छ । हामी सुन्न तयार छौँ । तर पुराना दललाई गाली गरेर मात्र नयाँ मान्यता स्थापित हुँदैन । गाली मात्रै गरेर यो देश बन्छ भने गर्नुस्, हामी सुन्न तयार छौँ ।’

    उहाँले पुराना राजनीतिक दलहरुलाई गाली गरेर मात्र नयाँ मान्यता स्थापित नहुने पनि बताउनु भयो ।