बिहिवार , आश्विन १, २०८३
भैरहवा, १ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष श्री मुक्तिनाथ यादव (भोला) ले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि आगामी बजेटमा आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समावेशी मञ्च नेपालका प्रदेश समन्वयक विनोद बीसी र एफएसटीपी रुपन्देहीका किरण गुरुङसँगको भेटघाटका क्रममा वडाध्यक्ष यादवले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लक्षित कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रस्तावना तयार गरी ल्याउनसमेत आग्रह गर्नुभएको छ ।
वडाध्यक्ष यादवले आफ्नो वडामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि विशेष कार्यक्रम आयोजना गर्ने बताउँदै उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाभित्र बसोबास गर्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रतिनिधिका साथै वडाका जनप्रतिनिधिहरूलाई समेत सहभागी गराउने जानकारी दिनुभयो । उहाँले समावेशी मञ्च नेपालका प्रदेश समन्वयक विनोद बीसीसँग विगतदेखि नै विभिन्न सामाजिक विषयमा सहकार्य हुँदै आएको स्मरण गर्दै आफू पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेदेखि नै बीसी र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट निरन्तर साथ र सहयोग प्राप्त भएको बताउनुभयो ।
‘निर्वाचनका क्रममा समुदायले गर्नुभएको सहयोग म कहिल्यै बिर्सने छैन,’ सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका यादवले भन्नुभयो-आगामी दिनमा पनि समुदायका सवालमा सहकार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउनेछु ।’
भेटघाटका क्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार, स्थानीय तहको नीति तथा कार्यक्रममा समावेशीता र समुदायमैत्री कार्यक्रम सञ्चालनका विषयमा समेत छलफल भएको थियो । आगामी दिनमा वडा कार्यालय र सम्बन्धित समुदायबीच समन्वय तथा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij