बुधवार , भाद्र ३१, २०८३
भैरहवा, ३१ भदौ । लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्ष्टिच्युटको आयोजनामा तथा लुम्बिनी चाइनिज लर्निङ एण्ड टेस्टिङ सेन्टरको सहकार्यमा बुधबार ‘कन्फ्युसियस इन्स्टिच्युट दिवस २०२६’ मनाइएको छ ।
सिद्धार्थनगर नगरपालिका, वडा नम्बर ४ स्थित पुगताभूमि जेतवन विहारमा सञ्चालित लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह शिक्षा विकास परियोजनाअन्तर्गत सञ्चालित ‘अध्ययन केन्द्र’ मा आयोजित कार्यक्रमको मूल नारा ‘सभ्यताबीच आपसी सिकाइ, भाषाले मन जोड्छ’ भन्ने रहेको थियो ।
कार्यक्रममा चिनियाँ भाषाको क्यालिग्राफी लेखन कला सिकाइ सेसनमा अतिथिहरूको सहभागीता थियो । त्यस्तै चिनियाँहरूको चियापानको संस्कृतिको प्रदर्शन र नेपाल–चीन सम्बन्धबारे विद्यार्थीको अनुभवसम्बन्धित छोटा भिडियो प्रतियोगितामा ९८ जना विद्यार्थीहरूको सहभागीता थियो । कार्यक्रमको उद्देश्य ‘चिनियाँ सिकौं, शास्त्रीय कलाको अनुवाद गरौं, मनहरू जोडौँ र मित्रता निर्माण गरौं’ भन्ने रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति मणिकरत्न शाक्यले कन्फ्युसियस र बुद्ध समकालीन दार्शनिक व्यक्तित्व रहेको र उनीहरूका दर्शन तथा विचारधाराका विभिन्न पक्षबीच समानता रहेको बताउनुभयो । उहाँले कन्फ्युसियस इन्स्टिच्युटले नेपाल–चीनबीचको भाषिक तथा साँस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा चिनियाँ भाषामा पोख्त भएका विद्यार्थीहरूले बौद्ध ग्रन्थको अध्ययन तथा अनुवादमा समेत योगदान गर्न सक्ने धारणा राख्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार इन्द्र काफ्लेले चिनियाँ भाषामा सुरक्षित रहेका बौद्ध ग्रन्थको अध्ययन तथा अनुसन्धानका लागि नेपाली विद्यार्थीहरूले चिनियाँ भाषा सिक्न आवश्यक रहेको धारणा राख्नुभयो ।
होटल व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि चिनियाँ भाषा जान्ने दक्ष जनशक्तिको आवश्यकता रहेको र त्यसलाई पूरा गर्न विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । चिनियाँ क्यालिग्राफी लेखनमा रूची राखेर आफ्नो नाम लेख्न प्रयास गर्नुभएका श्रेष्ठले चिनियाँ अक्षरहरू बाहिर हल्ला गरेजस्तो कठिन नभएको र यसको लेखन कलाको सुन्दरता अद्भूत रहेको अनुभव भएको बताउनुभयो ।
पर्यटन व्यवसायी संजीव जोशीले चिनियाँ भाषामा पोख्त रहेका विद्यार्थीहरूका लागि रोजगारीका असीमित अवसर रहेको र चिनियाँ भाषामा पोख्त विद्यार्थीहरूलाई पर्यटन क्षेत्रमा काम गर्नका लागि आवश्यक सीप र ज्ञानबारे प्रशिक्षित गर्नमा हातेमालो गर्न स्थानीय व्यवसायीहरू तयार रहेको बताउनुभयो । साथै स्थानीय स्तरमा पनि योग्य विद्यार्थीहरूलाई रोजगारीका अवसर उपलब्ध गराउन आफूहरू उत्साहित रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले कन्फ्युसियस इन्ष्टिच्युट स्थापना भएपछि नेपाल–चीनबीचको भाषिक तथा साँस्कृतिक आदानप्रदानमा भएका विभिन्न गतिविधिबारे जानकारी गराउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, कन्फ्युसियस इन्ष्टिच्युटका चीन पक्षकी निर्देशक डा. काओ रुईले विश्वविद्यालयमा चिनियाँ भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको धारणा राख्नुभयो । त्यस्तै नेपाल पक्षका निर्देशक डा. राम चन्द्र कार्कीले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय चाइनिज लर्निङ एण्ड टेस्टिङ सेण्टरको निर्देशक याङ स्याले भाषाले मानिस र देशबीचको सम्बन्ध जोड्ने बताउनुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयको चिनियाँ भाषा परीक्षा केन्द्रमा चिनियाँ भाषा परीक्षा दिने विद्यार्थीमा नेपाली विद्यार्थीको संख्याभन्दा भारतीय विद्यार्थीको संख्या धेरै रहेको जानकारी दिनुभयो । कार्यक्रममा विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अन्य अतिथिहरूको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij