२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

सिद्धार्थनगर नगरपालिकाबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा प्रवाह हुने

बुधवार , भाद्र ३१, २०८३

  • 253
    Shares
  • 253
    Shares
  • भैरहवा, ३१ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाभित्रका व्यवसायीले अब स्थानीय तहमार्फत नै आन्तरिक राजस्वसम्बन्धी सेवा प्राप्त गर्ने भएका छन् । आन्तरिक राजस्व कार्यालय भैरहवा र सिद्धार्थनगर नगरपालिकाबीच करसम्बन्धी सेवा स्थानीय तहमार्फत प्रवाह गर्ने विषयमा बुधबार सम्झौता भएको हो ।

    सम्झौताअनुसार सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायीलाई नगरपालिकाबाटै व्यवसाय तथा करसम्बन्धी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । यसबाट व्यवसायीले सामान्य करसम्बन्धी कामका लागि आन्तरिक राजस्व कार्यालय भैरहवा धाउनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्रका व्यवसायीलाई स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बताउनुभयो । उहाँले व्यवसायीले नगरपालिकाबाटै कर दर्तालगायतका सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

    करसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुँदा व्यवसायीलाई समय र खर्चको बचत हुनुका साथै कर प्रशासनप्रतिको पहुँचसमेत सहज हुने पोख्रेलको भनाइ छ । स्थानीय तहसँगको सहकार्यले व्यवसायीलाई करसम्बन्धी प्रक्रियाका बारेमा जानकारी गराउन र नियमित रूपमा कर प्रणालीमा जोडिनसमेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगर क्षेत्रमा रहेका सबै व्यवसायलाई करको दायरामा ल्याउन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नगरपालिकाभित्र ठूलो संख्यामा व्यवसाय सञ्चालनमा रहे पनि कतिपय व्यवसाय कर प्रणालीको दायरामा आउन बाँकी रहेको भन्दै स्थानीय तहबाटै सेवा उपलब्ध गराउँदा व्यवसायीलाई करसम्बन्धी प्रक्रिया पूरा गर्न सहज हुने बताउनुभयो । नगरप्रमुख खाँले कर तिर्ने वातावरण सहज बनाउन सके करको दायरा विस्तार गर्न सकिने बताउनुभयो । नगरपालिकाको राजस्व वृद्धि मात्र नभइ व्यवसायलाई व्यवस्थित र कानुनी प्रक्रियामा आबद्ध गराउने विषयलाई समेत प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी गरिने बताउनुभयो । उहाँले नगरपालिकाबाट प्रदान गरिने करसम्बन्धी सेवाका लागि आवश्यक जनशक्ति, पूर्वाधार र समन्वयलाई व्यवस्थित बनाइने बताउनुभयो । उहाँले आन्तरिक राजस्व कार्यालय र नगरपालिकाबीच निरन्तर समन्वय कायम गरेर व्यवसायीलाई छिटो, सरल र सहज रूपमा सेवा उपलब्ध गराउने वातावरण निर्माण गरिने बताउनुभयो । स्थानीय तहबाट सेवा प्रवाह गर्दा करदातासँग प्रत्यक्ष सम्पर्क बढ्ने र कर प्रशासनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।

    सम्झौता कार्यक्रममा भैरहवा क्षेत्रका व्यवसायी तथा सरोकारवालाको उपस्थिति थियो । कार्यक्रममा सहभागी व्यवसायीले करसम्बन्धी सेवा स्थानीय तहबाटै प्राप्त हुने व्यवस्थाले आफूहरूलाई सहज हुने बताएका थिए । स्थानीय तह र आन्तरिक राजस्व कार्यालयबीच भएको सम्झौताले सिद्धार्थनगर क्षेत्रका व्यवसायीलाई कर प्रणालीमा आबद्ध गराउन तथा करसम्बन्धी सेवा प्रवाहलाई विकेन्द्रित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, नगर क्षेत्रमा रहेका व्यवसायको तथ्यांक संकलन, कर दर्ता र करको दायरा विस्तारमा समेत यसबाट सकारात्मक प्रभाव पर्ने देखिएको छ ।