बुधवार , भाद्र ३१, २०८३
दाङ, ३१ भदौ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोद बहादुर कुँवरले जिम्मेवारी सम्हाल्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णय अनुसार सचिव पदमा बढुवा हुनुभएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नुभएको हो ।
जिम्मेवारी सम्हालेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीहरूसँग परिचयात्मक कार्यक्रम गरिएको थियो । परिचयात्मक कार्यक्रम पश्चात् मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतसँग प्रमुख सचिव कुँवरले भेट गर्नुभएको थियो ।
परिचयात्मक कार्यक्रममा प्रदेश सचिव निता पोखरेल अर्यालले लुम्बिनी प्रदेशको समग्र अवस्था, प्रशासनिक संरचना, जनशक्तिको अवस्था तथा प्रदेश सरकारका प्राथमिकताबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रमुख सचिव कुँवरले शासन प्रणालीमा सुधार गर्दै नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत परिणाम दिन सकिने बताउनुभयो । ‘शासकीय सुधारको नीति लिएर काम गर्दा परिणाम दिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘प्रदेशले संविधानले दिएको अधिकारअनुसार आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्छ ।’ उहाँले प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन सामूहिकतामा काम गर्ने अभ्यास आवश्यक रहेको र त्यसमा आफूले जोड दिने स्पष्ट पार्नुभयो ।
कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रमुख सचिव कुँवरले कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । ‘म सहकार्यमा विश्वास गर्छु । सबै मिलेर काम गर्दा मात्रै परिणाम दिन सकिन्छ,’ उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij