२०८३, भाद्र २८ गते

Sep 13 2026 | २०८३, भाद्र २८ गते

बुटवल हस्पिटल प्रा.लि.द्वारा बाढीप्रभावितका लागि ७,७७,७७७ सहयोग

आइतवार , भाद्र २८, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • बुटवल, २८ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनस्र्थापनाका लागि रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रा. लि.ले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    २५ वर्षदेखि बुटवलमा रहेर बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको बुटवल हस्पिटलले सहयोग गर्दै विपदको बेला प्रभावित नागरिकहरुसँगै रहेको बताएको छ । 

    अस्पतालका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा अस्पतालका सञ्चालक एवं जनप्रतिनिधि नरिश्वर शर्माको पनि उपस्थिति थियो । 

    प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुग्ने बिश्वासका साथ ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा रकम जम्मा गरिएको अस्पतालका अध्यक्ष पौडेलले बताउनुभयो । अस्पतालले प्रभावित क्षेत्रमा जाने अभियान्ता एवं सहयोगी समूहमार्फत पनि औषधीजन्य सामाग्री पठाइसकेको थियो । असहाय तथा विपन्नहरुको सहज ढंगले उपचार गर्दै आएको बुटवल हस्पिटलले पटकपटक दिनदुःखीको साथमा रहेको प्रमाणित गर्दै आएको अस्पतालको भनाइ छ ।

    बुटवलको ज्योति पथमा अवस्थित १ सय शय्या क्षमताको हस्पिटलले अनुभवी स्वास्थ्यकर्मीहरू, उत्कृष्ट चिकित्सा प्रविधि र आधुनिक पूर्वाधारको संयोजन गर्दै एउटै छानामुनी सम्पूर्ण तथा बृहत् स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।

    लुम्बिनी प्रदेशको एक प्रमुख मल्टी–स्पेसियालिटी स्वास्थ्य संस्थाको रूपमा परिचित यो संस्था करुणामयी र बिरामी–केन्द्रित चिकित्सा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै आएको छ । यस विपद्को घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको स्वास्थ्य सहयोग गर्नका लागि बुटवल हस्पिटल प्रा.लि. पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कुरा हस्पिटलले जनाएको छ ।