२०८३, भाद्र २८ गते

Sep 13 2026 | २०८३, भाद्र २८ गते

फर्निचर उद्योग संरक्षण र घुमन्ते कामदार नियन्त्रणमा व्यवसायिक संस्था एकजुट

आइतवार , भाद्र २८, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • बुटवल, २८ भदौ । नेपाली फर्निचर उद्योगको संरक्षण, स्वदेशी उत्पादनको बजारीकरण तथा दर्ताबिहीन घुमन्ते कामदारको गतिविधि नियन्त्रणका लागि रुपन्देहीका व्यवसायिक संस्थाहरूले संयुक्त पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    फर्निचर उद्योग संघको आयोजनामा बुटवलमा भएको फर्निचर उद्योगको संरक्षण, बजारीकरण तथा दर्ताबिहीन घुमन्ते कामदार नियन्त्रणसम्बन्धी छलफलमा सहभागी व्यवसायिक संस्थाका प्रतिनिधिहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिदै उद्योगी व्यवसायीका समस्या समाधानका लागि साझा धारणा बनाएर अघि बढ्ने बताएका हुन् ।

    कार्यक्रममा फर्निचर उद्योग संघका अध्यक्ष जीवकान्त काफ्लेले संघ २०५६ सालदेखि उद्योगी तथा व्यवसायीको हकहित, संरक्षण र व्यवसायिक विकासका लागि निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले सरकारी तथा गैरसरकारी निकायमा नेपाली फर्निचरको प्रयोग बढाउनुपर्नेमा जोड दिदै स्वदेशी उत्पादनको बजारीकरणका लागि नियमित रूपमा फर्निचर एक्स्पो आयोजना गर्नुपर्ने बताउनुभयो ।

    घुमन्ते तथा दर्ताबिहीन कामदारबाट हुने गतिविधिले व्यवसायिक क्षेत्रलाई असर गरिरहेको भन्दै काफ्लेले त्यस्ता गतिविधि नियन्त्रणका लागि व्यवसायिक संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपाली फर्निचर उद्योगको संरक्षणका लागि सबै व्यवसायिक संस्थाको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।

    बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष पदम विकले दर्ताबिहीन घुमन्ते कामदारबाट गरिने काम दीर्घकालीन रूपमा भरपर्दो नहुने बताउनुभयो । त्यस्ता कामदारबाट गराइएको काममा मर्मत तथा गुणस्तरको समस्या देखिने भन्दै उहाँले आफ्ना सदस्य व्यवसायीलाई दर्ताबिहीन कामदारबाट काम नगराउन सूचना जारी गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष टंक अधिकारीले समस्याको जड पहिचान गरी राज्यले तत्काल समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो । दर्ताबिहीन तथा अव्यवस्थित गतिविधिका कारण स्वरोजगार र घरेलु उद्योगसमेत संकटमा पर्न सक्ने उहाँको भनाइ थियो । घरेलु उद्योगबाट उत्पादित वस्तुको बजार विस्तारका लागि प्रदर्शनी प्रभावकारी माध्यम बन्न सक्ने उहाँले बताउनुभयो ।

    बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले घुमन्ते कामदारलाई निरुत्साहित गर्न संघका सदस्य व्यवसायीलाई सचेत गराउने बताउनुभयो । उहाँले नेपाली फर्निचरको गुणस्तर, डिजाइन र उत्पादनबारे उपभोक्तालाई जानकारी गराउन छुट्टै फर्निचर एक्स्पो आयोजना गर्नुपर्ने सुझाव दिनुभयो ।

    रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष दया भण्डारीले नेपाली कच्चा पदार्थमा आधारित फर्निचर उद्योगको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । फर्निचर उद्योगका लागि आवश्यक कच्चापदार्थ सहज रूपमा उपलब्ध हुने वातावरण बनाउन वन नीतिमा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाली फर्निचरप्रति उपभोक्तामा रहेको अन्योल हटाउन गुणस्तरीय उत्पादनको प्रदर्शनी र प्रभावकारी बजारीकरणमा जोड दिनुपर्ने भण्डारीको भनाइ थियो ।

    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले फर्निचर उद्योग संघ संस्थागत सदस्य भएकाले यस क्षेत्रका समस्या उद्योग संघलाई समेत जानकारी रहेको बताउनुभयो । उद्योग संघले आयोजना गर्ने प्रदर्शनीमा फर्निचरलाई प्राथमिकता दिदै आएको उल्लेख गर्दै उहाँले अब फर्निचर व्यवसायीले आफ्नै उत्पादनको छुट्टै प्रदर्शनी आयोजना गरी उपभोक्तामाझ नेपाली उत्पादनलाई प्रत्यक्ष रूपमा चिनाउनुपर्ने बताउनुभयो ।

    उद्योगीहरूले उत्पादनको गुणस्तर र व्यवसायिक सुधारमा समेत ध्यान दिनुपर्नेमा जोड दिँदै पराजुलीले स्थानीय रोजगारी सिर्जना गर्ने फर्निचर उद्योगको संरक्षण व्यवसायिक संस्थाहरूको साझा जिम्मेवारी भएको बताउनुभयो ।
    कार्यक्रममा रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्षले काठ खरीद, कटान तथा कच्चा पदार्थ व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    छलफलमा सहभागी व्यवसायिक संस्थाका प्रतिनिधिहरूले नेपाली फर्निचरको बजारीकरणका लागि नियमित फर्निचर प्रदर्शनी आयोजना गर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिने तथा दर्ताबिहीन घुमन्ते कामदारको गतिविधि नियन्त्रणका लागि संयुक्त रूपमा पहल गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।