२०८३, भाद्र २८ गते

Sep 13 2026 | २०८३, भाद्र २८ गते

लोकनृत्य प्रतियोगितामा आदर्श विद्या मन्दिर प्रथम

आइतवार , भाद्र २८, २०८३

  • 325
    Shares
  • 325
    Shares
  • भैरहवा, २८ भदौ । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा नेपाली लोकनृत्य प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । 

    कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको परिवारका अध्यक्ष विष्णु प्रसाद पन्थीले बताउनुभयो । सामूहिक विद्यालय परिवारले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको उहाँले बताउनुभयो ।

    प्रतियोगितामा आदर्श विद्या मन्दिर सिद्धार्थनगर–१३ प्रथम, नमूना इङ्लिस बोर्डिङ स्कूल तिलोत्तमा–१० द्वितीय, फ्लोरल इङ्लिस बोर्डिङ स्कूल ओमसतिया–४ तृतीय र फ्युचर लाईट इङ्लिस बोर्डिङ स्कूल मायादेवी–८ सान्त्वना भएको परिवारका सचिव कमल कोइरालाले बताउनुभयो । 

    प्रतियोगितामा १३ वटा विद्यालयको सहभागीता रहेको कार्यक्रम संयोजक तथा परिवारको उपाध्यक्ष सिर्जना पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार परिवारमा १७ वटा विद्यालयहरु आबद्ध छन् ।

    विजयी विद्यालय तथा विद्यार्थीहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपाने, प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा.कपिलदेव लामिछाने, सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पन्थीले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले सामूहिक विद्यालय परिवारले लोक संस्कृतिको संरक्षणको लागि महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थीहरुले अत्यन्तै राम्रो नृत्य प्रस्तुत गरेको बताउनुभयो ।

    ssss.JPG

    मन्त्री घिमिरेले आफ्नो लोकनृत्य तथा संस्कृतिको माया गर्न र यसको विकासमा लाग्न आग्रह गर्नुभयो । ‘कुनै पनि मुलुकसँग आफ्नो मौलिक संस्कृति छैन भने त्यो भौतिक रुपमा जति समृद्ध भए पनि त्यो राष्ट्रलाई समृद्ध मान्न सकिदैन । तर, जुन मुलुकसँग मौलिक संस्कृति, कला, रितिरिवाज, परम्परा छ त्यो नै संसारको सबैभन्दा समृद्ध राष्ट्र हो, ’उहाँले भन्नुभयो । उहाँले सामूहिक विद्यालय परिवारले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको जानकारी पाउँदा खुसी लागेको बताउनुभयो ।

    कार्यक्रममा परिवार अन्तर्गत २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा छात्रातर्फ आदर्श विद्या मन्दिरबाट ३ दशमलव ८६ जीपीए ल्याउने शर्मिला आचार्य र छात्रतर्फ ३ दशमलव ९० जीपीए ल्याउने सि.बि. पब्लिक हाई स्कूलका केशव भण्डारी रहेका छन् ।