२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

विपद् उद्धार कोषमा भलाई कोषको एकलाख सहयोग

शनिवार , भाद्र १३, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • बुटवल, १३ भदौ । रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि यातायात मजदूर तथा व्यवसायी भलाई कोष, बुटवलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

    भलाई कोषले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा पठाएको जनाएको छ । विपद्का बेला प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कोषले आफ्नोतर्फबाट सहयोग गरेको हो ।

    यातायात मजदूर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्वसमेत भएकाले कोषले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताउनुभयो । ‘विपद् कसैलाई भनेर आउँदैन । यस्तो अवस्थामा पीडितको उद्धार र राहतमा राज्यसँगै सबै क्षेत्रको सहयोग आवश्यक हुन्छ,’उहाँले भन्नुभयो–‘हामीले सानो भए पनि आफ्नोतर्फबाट योगदान गरौं भन्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम सहयोग गरेका हौँ ।’

    उहाँले यातायात क्षेत्र आफै पनि विभिन्न प्राकृतिक विपद् तथा संकटका समयमा प्रभावित हुने भए पनि मानवीय सेवाको भावनाले कोषले विगतदेखि नै सामाजिक काममा सहभागीता जनाउँदै आएको बताउनुभयो ।

    भलाई कोषले यसअघि कोरोना भाइरसको संक्रमणका बेला पनि लुम्बिनी प्रदेश सरकारको कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । महामारीका बेला यातायात क्षेत्रका मजदूर तथा व्यवसायी स्वयं समस्यामा रहे पनि सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश सरकारको कोषमा उक्त रकम सहयोग गरिएको अध्यक्ष फुल्लेलले बताउनुभयो । ‘हामीले विगतमा पनि अप्ठ्यारो परिस्थितिमा राज्यलाई सहयोग गर्दै आएका छौं । अहिले बाढीपहिरोबाट ठूलो क्षति भएको अवस्थामा पनि आफ्नोतर्फबाट सहयोग गर्नुपर्छ भन्ने महसुस भयो,’उहाँले भन्नुभयो-‘आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता सामाजिक तथा मानवीय कार्यमा कोषको सहभागिता निरन्तर रहनेछ ।’

    भलाई कोष यातायात मजदूर तथा व्यवसायीको हितसँगै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधिमा सहभागी हुँदै आएको छ । विपद्का बेला राहत तथा उद्धारका लागि सरकारी कोषमा सहयोग गर्नुका साथै आवश्यकताअनुसार प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग गर्ने कार्यमा समेत यातायात क्षेत्रका संघ-संस्था सहभागी हुँदै आएका छन् ।