२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

जाली नोट नियन्त्रणमा बैंक तथा सर्वसाधारणको सहकार्य आवश्यक रहेकोमा जोड

मंगलवार , भाद्र ९, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • बुटवल, ९ भदौ ।  सामान्य प्रविधिको प्रयोगबाट तयार गरिएका जाली नोटको कारोबार नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्था, सुरक्षा निकाय र सर्वसाधारणबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।

    नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले मंगलबार रुपन्देहीको बुटवलमा आयोजना गरेको वित्तीय सचेतना कार्यक्रममा सहभागीहरूले जाली नोटको कारोबारले सर्वसाधारणसँगै वित्तीय प्रणालीमा समेत जोखिम निम्त्याउन सक्ने बताए । यसको नियन्त्रणका लागि नोटको पहिचानदेखि शंकास्पद कारोबारको सूचना दिने व्यवस्थासम्मलाई प्रभावकारी बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक सुदीप फुयाँलले जाली नोटलाई केवल आपराधिक गतिविधिका रूपमा मात्र नहेरी वित्तीय प्रणालीसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने बताउनुभयो । नोटको विश्वसनीयता कायम राख्न केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, प्रहरी र सर्वसाधारणको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

    सिद्धार्थनगर शाखाको निर्देशक नविना ढकालले बैंकिङ कारोबार बढ्दै गएको अवस्थामा नगद कारोबारमा समेत सावधानी आवश्यक रहेको बताउनुभयो । उहाँले सर्वसाधारणले नोटको सुरक्षा विशेषता बुझेर कारोबार गर्ने बानी विकास गर्न सके जाली नोटको जोखिम न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका सहायक निर्देशक रुकु पन्थीले जाली नोट कसरी तयार हुन्छ, सक्कली र नक्कली नोट छुट्याउने आधार के हुन् तथा जाली नोट भेटिएमा कहाँ र कसरी जानकारी गराउने भन्नेबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नोटमा प्रयोग हुने सुरक्षा विशेषता तथा त्यसको छपाइ प्रक्रियाबारे जानकारी दिँदै सर्वसाधारणले सामान्य सावधानी अपनाउँदा पनि धेरैजसो जाली नोट पहिचान गर्न सकिने बताउनुभयो ।

    उहाँका अनुसार कारोबारका क्रममा शंका लागेका नोटलाई पुनः अरू व्यक्तिलाई चलाउनेभन्दा सम्बन्धित बैंक वा सुरक्षा निकायलाई जानकारी गराउनु आवश्यक हुन्छ । जाली नोटको कारोबारमा अन्जानवश संलग्न हुन सक्ने जोखिमबाट बच्न नोट लिँदा र दिँदा सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

    मुद्रा व्यवस्थापन विभागको उपनिर्देशक शर्मिला श्रेष्ठले जाली नोटसम्बन्धी जानकारी बैंकिङ क्षेत्रका कर्मचारी र सर्वसाधारण दुवैका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले नोटको पहिचान गर्ने व्यवहारिक ज्ञान समुदायस्तरसम्म पुर्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जाली नोटको कारोबारमा हुने कानूनी कारवाही तथा प्रहरी अनुसन्धान प्रक्रियाबारे जानकारी दिनुभयो । शंकास्पद नोट वा कारोबार भेटिएमा त्यसलाई लुकाउने वा पुनः चलनमा ल्याउनेभन्दा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । प्रहरी अनुसन्धानका क्रममा नोटको स्रोत, कारोबारमा संलग्न व्यक्ति र उद्देश्य पहिचान गरिने उहाँले बताउनुभयो ।

    de82cd99-0dab-47f4-9c4a-40ae88cdbd63.jpg

    कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी र विद्यार्थीको सहभागिता थियो । सहभागीलाई सक्कली तथा जाली नोटका नमुना देखाउँदै नोटको सुरक्षा विशेषता पहिचान गर्ने व्यवहारिक जानकारीसमेत दिइएको थियो ।